आज दार्चुलाको व्यास गाउँपालिकाको तिंकरमा सशस्त्र प्रहरीको विओपी स्थापना कार्यक्रममा गएका जनप्रतिनिधि महाकाली नगरपालिकाका मेयर  नरसिंह चैसिर र व्यासका अध्यक्ष  मंगल सिंह धामीलाई भारतीय सिमा सुरक्षा बलको टोलीले बाटोमै रोकेको खबर सार्वजनिक भएको छ ।
विगतमा पनि यी र यस्ता व्यवहार सीमाबासीहरू संग नगरिएका होईनन । सीमाबासीलाई यस्तै व्यवहार गरिन्छ भन्ने ठानेर नै स्व.नेता प्रेम सिंह धामीले राज्यमन्त्री पदबाट तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई आफ्नो राजिनामा बुझाएका थिए । राजीनामाको सार थियो ‘म सार्वभौम मुलुकको मन्त्री भएर झण्डावाल गाडी र शिरमा नेपाली टोपी लगाएर भारतको बाटो प्रयोग गरी आफ्नो जिल्ला फर्किन सक्दैन । त्यसैले मलाई मेरो जिल्ला जान नेपालको सडक चाहिन्छ र उक्त सडकका लागि तत्काल बजेट व्यवस्थापन गरियोस् ‘। नेता धामीले राज्यमन्त्री पदबाट मात्रै नभई आफ्नो पार्टीको जिम्मेवारी बाट समेत राजीनामा दिएका थिए । आजको यो घट्नाले हजारौ पटक स्व.नेता धामीलाई सम्झिएको छु । धामीको उक्त अडानले प्रधानमन्त्री मनमोहन अधिकारीले तत्काल बजेटको व्यवस्था गरी नेपालको भुगोल हुँदै दार्चुला जोड्ने बाटोको काम अगाडी बढाईएको थियो ।

आज भारतीय सुरक्षाकर्मीले महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर ,व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र नेपाली कांग्रेस निकट विद्यार्थी नेता दिपक खातीलाई भारतीय बाटो प्रयोग गरेर व्यास जान बाट रोकिएको छ । यो घट्नालाई राजनैतिक रङ्ग नदिई हेर्ने हो भने छिमेकी मुलुकले हाम्रा जनप्रतिनिधिलाई त यसरी रोकतोक लगायो भने जनताको हालत के होला ? भन्ने प्रश्न जन्माएको छ ।
यस घटनालाई सामान्य रूपमा नलिई राज्य र यसका निकायको गम्भीर ध्यानाकर्षण हुनु जरूरी छ । छिमेकी मुलुकको यस्तो व्यवहार र हर्कतको सरकारी नोटिसमा राख्नु आवश्यक देखिन्छ। यसबाट हाम्रा स्थानीय सरकारहरूको समेत चेतको ढोका खुल्नु आवश्यक देखिन्छ। तत्काल महाकाली नगरपालिका र व्यास नगरपालिकाले समन्वय गरेर आफ्नै पहलमा व्यास आवतजावत गर्ने पैदल बाटो सम्म भए पनि बनाउनु आवश्यक छ । जनप्रतिनिधि माथी गरिएको अपमान जनक व्यवहारको जवाफ भनेकै हाम्रो आफ्नो भुगोल भएर आवतजावत गर्न सक्ने बाटो निर्माण नै हो ।
यसका लागि आवश्यक डोनर एजेन्सी , जनश्रमदान, आफ्नो श्रोत परिचालन, संघ र प्रदेश सरकार संग सहकार्य लगायत जहा जस्तोसुकै जोहो गरेर भए पनि व्यास जाने बाटो निर्माण गर्नु आवश्यक छ । हामीले व्यास जाने बाटो निर्माण नगरे सम्म अझै  यस्ता र यो भन्दा निर्मम रोकतोक र अपमान सहदै बस्नु पर्नेछ ।
विगतमा गणेश  सिंह ठगुन्ना देखि बीर बहादुर ठगुन्ना सम्मका नेताहरूलाई व्यास मात्रै नभई भारत प्रवेशमा समेत रोक लगाएको जिवन्त उदाहरण हामी सामु हुँदा हुँदै आज हाम्रा जनप्रतिनिधि रोकिनु कुनै आश्चर्यको बिषय नै होईन । विगतका बर्ष मात्रै पवन र जयसिंह हरूलाई मृत्यु उपहार दिएको छिमेकी मुलुकले आज हाम्रा जनप्रतिनिधिलाई रोक्नु कुनै नौलो बिषय होईन । त्यसैले महाकाली नगरपालिका र व्यास गाउँपालिकाले छिट्टै व्याय आवतजावत गर्न सकिने बाटो निर्माणमा अग्रसरता देखाउनु नै भारतीय दादागिरीको उत्तम जवाफ हो । महाकालीका मेयर चैसिर र व्यासका अध्यक्ष धामी व्यास जोड्ने बाटो बनाई भारतलाई इटको जवाफ पत्थरले दिन तयार होऊन 

यि दुबैजनाले अब ढिला नगरी व्यास जाने बाटो निर्माणमा अग्रसरता लिऊन ।

उक्त बाटो निर्माण अभियानको नेतृत्व मेयर र अध्यक्ष बाट गरियोस। धरानको मेयर हर्क साम्पाङ्ले आफै खटिई जनश्रमदानमा सर्दु खोलाको  पानी ल्याएर काकाकुल धरानको तिर्खा मेट्टाए भने दार्चुलाका तपाई जनप्रतिनिधिहरूले जनता हिड्ने बाटो बनाउन किन नसक्ने ?

तपाईहरूलाई आजको अपमान बाट पन्छिने र  भारत संग चित्त बुझाउने छुट छैन । किनकि तपाईहरूले नेतृत्व गरेको विचारबाट प्रभावित  प्रत्येकको धड्कनमा राष्ट्रवादको स्वास धड्किरहेको छ ।  नाडीमा राष्ट्रियताको रगत उम्लिरहेको छ ।

त्यसैले तपाईहरूकै नेतृत्व र अग्रसरतामा व्यास आवतजावत गर्ने बाटो बनोस । भारतलाई इटको जवाफ पत्थर बाट दिईयोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय