सुदूरपश्चिमेलीहरूको महान चाड गौरा पर्व भदौँ २१ गते मनाइने भएको छ । मालिकार्जुन विकास समितिको सहजिकरणमा देशकै प्रसिद्ध  धाम मालिकार्जुनमा साउन २२ गते (आज) ज्योतिषहरूको भेलाले भदौँ १८ गते बिरूडापञ्चमी र २१ गते गौरापर्व मनाउने निष्कर्ष निकालेको हो

गौरा पर्व भदौँ ७ गते कि २१ गते मनाउने भन्नेमा मतभेद देखिएको बेला दार्चुला, बैतडी लगायत जिल्लाका प्रतिष्ठित  ज्योतिषिहरूको भेलाले गम्भीरतापूर्वक छलफल गर्दै २१ गते मनाउनु नै उपयुक्त हुने निष्कर्ष निकालेको अठोला ज्योतिष ईन्द्रदेब जोशीले जानकारी दिनुभयो । उक्त भेलामा ७ गते र २१ गते दुबै दिनको पक्षमा ज्योतिषहरूले खुलेर बहस गरेका थिए । डिल्लीराज जोशी लगायत केही ज्योतिषले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार ७ गते गौरा पर्व भएकोले सोही अनुसार मनाउनुपर्ने तर्क राखेपनि महिलाहरूले एकादशी व्रत उपासना नगरिकनै दुर्वाष्टमी (गौरा अष्ठमी) पर्वमा सरिक हुन नमिल्ने भएकोले २१ गते नै गौरापर्व मनाउनु पर्ने र उक्त दिन गौराका लागि उपयुक्त रहेको निष्कर्षमा भेला पुगेको बताइएको छ ।

हाम्रो शास्त्र, संस्कृति, परम्परा, रितिरिवाज अनुसार १८ गते नै बिरुडा पञ्चमी र २१ गते दूर्वाष्टमी गौरा पर्व मनाउनु उपयुक्त छ भन्ने निष्कर्ष निकाल्यौँ, ज्योतिष हरिदत्त जोशीले भन्नुभयो । सुक्ल पक्षमा दुर्गाष्टमीको ब्रत परेमा जेष्ठा नक्षत्रको भोग हुनै पर्ने र जेष्ठा नक्षत्रको पुजाआजा महिलाहरुले गर्नैपर्ने तथा कृष्ण पक्षमा गौराष्ठमी परेमा अष्ठमीको दिन रोहणी नक्षत्रले भोग गरेको हुनैपर्ने शास्त्रीय मान्यता रहेकोले ७ गते भन्दा २१ गतेको गौरा नै उपयुक्त रहेको ज्योतिषहरूको निष्कर्ष छ ।

यसअघि समेत दार्चुला जिल्लाभरीका पण्डित तथा ज्योतिषहरुको बैठक मालिकार्जुनमा बसेर १८ गते विरुडा पञ्चमी र २१ गते गौरा मनाउने निर्णय गरिएको थियो । पञ्चाङ्ग निर्णायक समितिले ७ गते गौरा मनाउनुपर्ने भन्दै विज्ञप्ति निकालेपछि यो वर्ष ७ गते र २१ गते कुन दिन गौरा मनाउने भन्ने विवाद बढेको थियो । हालसम्मको परम्परा र शास्त्रीय मान्यता अनुसार २१ गतेको गौरा पर्व उपयुक्त रहेकोले २१ गते नै दूर्वाष्ठमी मनाउने मालिकार्जुन भेलाले निर्णय गरेकोले कुनै द्विविधामा नपरी २१ गते नै दार्चुलासहित सुदूरपश्चिममा गौरा पर्व मनाउन ज्योतिषहरूले अनुरोध गरेका छन् ।

स्रोत: लोकदर्पण टिभी अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय