दुई साता पहिले बर्खे बिदामा धनगढीबाट दार्चुला गएकी राजेश्वरी डडाल प्रेममा रहेको कुरा उनका बुवा राजेन्द्र डडालले थाहा पाए । राजेश्वरी घरमा भएको बेला उनको मोबाइलमा आएका म्यासेज उनकी दिदी रञ्जना हुँदै बुबासम्म पुगेपछि छोरी प्रेममा रहेको थाहा पाएका हुन् ।

उनले छोरीलाई सम्झाउँछन् । सीमकार्ड परिवर्तन गर्न भन्छन् । छोरीसँग प्रेममा रहेका उनकै छिमेकी तथा आफन्त हुन्छन् । नाताले साला पर्ने व्यक्तिसँगको सम्बन्धबारे थाहा पाएपछि उनले मार्मा ६ मौरेका जगदीश कोट्टारीलाई फोनमा यस्तो नगर्न भन्छन् ।

मार्मा गाउँपालिका-६ सितोलीकी राजेश्वरी र सोही वडाकै जगदीश बिचकै प्रेमका कारण अन्ततः राजेन्द्रले छोरी गुमाउनु परेको छ ।

शिक्षण पेसाबाट स्थापित हुने अपेक्षासहित गत वैशाखदेखि दार्चुलाबाट धनगढी आएकी राजेश्वरी बुधबार बिहान मृत अवस्थामा फेला परिन् । बुबा राजेन्द्रले अहिले साला नाता पर्ने जगदीश विरुद्ध आत्महत्या दुरुत्साहन विरुद्ध किटानी दिएका छन् । प्रहरीले जगदीशलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

‘जेठो छोरीबाट दुई जनाको सम्बन्ध थाहा पाएपछि मैले दुवैलाई सम्झाईबुुझाई गरेर गलत बाटोमा नलाग्न भनेको थिए । केटालाई फोन गरेर छोरीलाई किन डिस्टर्व गछौँ भनेको थिए’, राजेन्द्रले भने, ‘उसले हामीबीच त्यस्तो केही पनि छैन भिनाजु भनेको थियो ।’

 

जगदीश राजेश्वरी नातामा मामा भान्जी हुन् । जगदीश विवाहित पनि हुन् । उनीहरुको सम्बन्धबारे थाहा पाएका बुवा राजेन्द्रले छोरीलाई बर्खे बिदा मनाउन दार्चुलाबाट डडेल्धुरास्थित माइलो भाइ गोपालसिंह डडालकोमा पठाएका थिए ।

 

३ भदौमा बर्खे बिदा सकेर धनगढी आएकी राजेश्वरीले तीन दिन पछि अर्थात् ६ गते बिहान सुसाइड नोट लेखेर ज्यान दिइन् ।

 

‘डडेल्धुराबाट म धनगढी आएको थाहा पाएपछि ऊ पनि आएको रहेछ । उसका ती झुट कुरामा मेरो दया, माया पलायो मैले माने । हिजो राती हामी गोदावरी गएका थियौँ । उसले म सिन्दुुरले आफ्नी बनाउँछु र कसैले अलग्याउन सक्दैन भनेको थियो तर खोइ‘आफ्नी श्रीमती भन्न सेक्स पर्नुपर्छ रे यस्तै कुराले म पनि हरेक कुरालाई साँचो मान्दै गए उपहार मैले मृत्यु पाए’, सुसाइड नोटमा राजेश्वरीले लेखेकी छन् ।

 

आमा र दिदीलाई क्षमा माग्दै लेखेकी छन्, ‘सरी दिदी, मम्मी हजुरहरूले राम्रो चिताउनु तर मैले के गरे ? कुनै पनि सजाय बढि हुने छैन मलाई ।’

 

मृतकका बुबा राजेन्द्रले साला नाता पर्ने जगदीशकै कारण छोरीले आत्महत्याको बाटो रोजेकाले कानुनअनुसार कारबाहीको माग गरेका छन् ।

 

राजेश्वरीले आत्महत्या गर्न अघि यस विषयमा प्रहरीमा पनि मिलापत्र भएको पाइएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीको महिला तथा बालबालिका सेलमा भदौँ ५ गते दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका थिए । तर, आगामी दिनमा अलग हुने बताएपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

 

‘दुवै जना अबदेखि हामीहरू एक अर्कासँग प्रेम सम्बन्धमा बस्दैनौँ भनेर सहमत भएपछि महिला तथा बालबालिका सेलमा कागज गरिएको थियो,’ प्रहरी निरीक्षक बस्यालले भने । तर प्रहरीले मिलापत्र गराएको २४ घण्टा नबित्दै राजेश्वरीले भने आत्महत्याको बाटो रोजिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय