ग्रीसमा तीन नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चारजना पक्राउ परेका छन् ।

 

मोरङको रंगेली नगरपालिका–२ बस्ने २५ वर्षीय सवित्रा थापा, उदयपुरको त्रियुगा नगरपालिका–३ बस्ने कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१, मथुरापाटी बस्ने राजन सत्याललाई अपहरण गरी फिरौती रकम लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

 

सीआईबीका अनुसार गत जेठ १२ गते उनीहरू एक साथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए ।

 

 

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुनः लुकीछिपी ग्रीस प्रवेश गर्न लागेका थिए ।

 

त्यही क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा निजको सहयोगी समेतले उनीहरूलाई अपहरण गरिएको आरोप छ ।

 

डोरीले बाँधी यातना र मार्ने धम्कीसमेत पीडितहरूका नेपालमा रहेका परिवारले दिएको जाहेरीमा उल्लेख छ ।

 

ग्रीस तथा दुबईबाट ह्वाट्सएपमार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम समेत लिएको सीआईबीले जनाएको छ ।

 

ब्युरोका अनुसार नेपालमा फिरौती रकम लिने कार्यमा संलग्न धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलबासे र पर्वतका ४२ वर्षका दिलबहादुर थापालाई पक्राउ गरिएको हो ।

 

ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट फिरौती रकमसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय