बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका टंकबहादुर धामी विजयी भएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा निकट उद्योगी व्यवसायीको प्यानलबाट उम्मेदवार बनेका धामीले कांग्रेस, एकीकृत समाजवादीलगायत दल निकट प्यानलका ललित रौनियारलाई पराजित गरेका हुन् ।

धामीले दुई हजार ४५६ मत ल्याए भने रौनियारले एक हजार ५६६ मत प्राप्त गरे ।

अध्यक्षसहित अन्य अधिकांश पदमा समावेशी प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् ।

उद्योग उपाध्यक्षमा समावेशी प्यानलकै चिरञ्जीवी वली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भीम रानाभाट, उपमहासचिवमा प्रजातान्त्रिक प्यानलका टेकबहादुर खड्का र कोषाध्यक्षमा प्यानलका मख्खन धामी निर्वाचित भए ।

सदस्य पदमा समावेशी प्यानलका सात र साझा प्रजातान्त्रिक समूहका तीन जना विजयी भएका छन् ।

१० जना सदस्यका लागि भएको प्रतिस्पर्धामा विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, शिवप्रसाद दाहाल, तोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय, बुद्धिबहादुर विके, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भए ।

विजयी शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल नेपाली कांग्रेस-एकीकृत समाजवादी गठबन्धन साझा प्रजातान्त्रिक समूहका उम्मेदवार हुन् ।

विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय, बुद्धिबहादुर विके एमाले-माओवादी-राप्रपा गठबन्धनको समावेशी प्यानलका उम्मेदवार हुन् ।

एसोसिएटतर्फ कमल कार्की र प्रदीप गुप्ता विजयी भएका छन् । किशन गुरुङ्ग पनि सदस्यमा विजयी भएका छन् भने विनय श्रेष्ठ र हिमनाथ पौडेलले बराबरी मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय