कैलालीको बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रूपमा संचालन भएको छ।

विगत ५ दिनदेखि लगातार मर्मतको काम गरिएकोमा शनिबार दिउँसो आंशिक रूपमा मात्रै ट्याक खोल्न सकिएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी सहायक निरीक्षक जनकबहादुर धानुकले जानकारी दिए।

गत सोमबार रातिको अविरल वर्षाका कारण कैलालीको गोदावरी नगरपालिका–४ को बुढीतोलमा सडक भाँसिनुका साथै सडकमाथिबाट पहिरो समेत खसेको थियो।

मर्मत गरिएको सडक पनि लगातार भइरहेको वर्षाका कारण हिलाम्मे भएकाले सहज आवतजावत भने भइरहेको छैन। खाली सवारी साधनलाई मात्रै एकतर्फी रूपमा सञ्चालन गर्न दिइएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

खाली बस, ट्रक, जीप मोटरसाइकल लगायतका साधनलाई एकतर्फी सञ्चालन गर्न दिइएको छ। खाली सवारी साधनपनि हिलोमा फस्ने जोखिम बढेको बताइएको छ। मालवाहक सवारी साधन सञ्चालन गर्न नदिएका प्रहरीको भनाइ छ।

सुदूरपश्चिम लगायतका देशका विभिन्न ठाउँमा मंगलबारसम्म नै वर्षाको सम्भावना रहेकाले पूर्णरूपमा राजमार्ग सुरु हुन समय लाग्ने बताइएको छ।

त्यसयता सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला प्रदेश राजधानी कैलाली र कञ्चनपुरबाट महाडका ७ जिल्ला आउने सवारी साधन तथा पहाडी ७ जिल्ला डोटी, अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलाबाट कैलाली तथा कञ्चनपुर जाने सवारी साधन पूर्ण रूपमा ठप्प थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय