निजी क्षेत्रको लगानीमा निर्माण सम्पन्न भएको ४० मेगावाटको अपर चमेलिया विद्युत् आयोजनाको उत्पादन परीक्षण सुरु भएको छ । अपि पावर कम्पनीले निर्माण गरेको उक्त आयोजनाले शुक्रबार उत्पादन परीक्षण सुरु गरेको हो । दार्चुलाको मार्मा गाउँपालिका-१ किम गडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर २ को घट्टी गाडमा रहेको पावर हाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको छ ।

शनिबारदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन गरी वलांचस्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाका प्रबन्ध निर्देशक संजीव न्यौपानेले भने, ‘६ हजार १ सय मिटर लामो पेन्सटक पाइपलाइन, तीनवटा टर्वाइन, जेनेटर र अन्य प्राविधिक उपकरण परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु भएको हो ।’ दुई सातापछि व्यावसायिक उत्पादन सुरु हुने पनि उनले जानकारी दिए ।

३० महिनामा ८ अर्ब ५० करोड लागतमा सम्पन्न भएको उक्त आयोजनाबाट उत्पादन भएको विद्युत् भारत-नेपाल क्रस बोर्डर प्रसारण लाइनमार्फत भारत जाने पनि प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए । उनले भने, ‘वर्षभरि नै सुदूरपश्चिममा उत्पादन भइरहेको विद्युत्‌मध्ये ८० मेगावाट भारत बिक्री हुने सहमति भइसकेको छ ।’

उत्पादन परीक्षण सुरु भएको अपर चमेलियाबाहेक सुदूरपश्चिममा अन्य आधा दर्जन आयोजना पनि निर्माणको अन्तिम चरणमा छन् । ‘सुदूरपश्चिममा औद्योगिक सम्भावनाको ढोका खुलेको छ,’ निर्देशक न्यौपानेले भने, ‘विद्युत् आपूर्तिको अभाव देखाएर अहिलेसम्म सुदूरपश्चिममा ठूला उद्योग खुल्न सकेका छैनन् ।’ उक्त आयोजनासँगै निर्माणको अन्तिम चरणमा पुगेका आधा दर्जन आयोजनाले विद्युत् उत्पादन सुरु भएपछि औद्योगिक क्षेत्र पनि स्थापना हुन सक्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय