सामाजिक सञ्जाल फेसबुकमा गलत सूचना दिने एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच मिलापत्र भएको छ । करिब एक क्‍वीन्टल सुन प्रकरणमा मन्त्री श्रेष्ठमाथि गलत सूचना फैलाएको भन्दै सचिवालयले साइबर ब्यूरोमा उजुरी हालेपछि मन्त्री श्रेष्ठ र बस्नेतबीच छलफल गरेर मिलापत्र गरेका हुन् ।

मिलापत्रपछि बस्नेतले समाचार स्रोत गलत परेकाले गृहमन्त्री श्रेष्ठको प्रतिष्ठामा परेको असरप्रति दुःख गरेको बताएका छन् । छलफलपछि ब्युरोमा परेको उजुरी फिर्ता लिने सहमति भएको बस्नेतले सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् ।

‘माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज छलफल भयो । उहाँले पुरानै मित्रवत शैलीमा गणेशजीले नै मेरोबारे यस्तो लेख्ने ? भनेर हाँस्नु भयो । मैँले तपाईंलाई नै किटान गरेर कहाँ लेखेको छु भने’ बस्नेतले फेसबुकमा लेखेका छन्’छलफलबाट निचोड निकालियो- अहिलेसम्मको असहमतीको अन्त्य गर्ने । नेपाल प्रहरीको साइबर ब्यूरोमा सचिवालयबाट मेरोविरुद हालेको उजुरी फिर्ता भएको छ । धन्यवाद माननीय गृहमन्त्री नारायणकाजी कमरेड ।’

बस्नेतले बुझाइ फरक परेको तर गलत नियत नराखेको बताएका छन् । ‘केही बुझाईमा फरक परेछ हामीबीच तर नियत गलत थिएन । विमानस्थलमा बरामद सुन प्रकरणमा मैले प्रश्न गरेको थिए, त्यो प्रश्नले मेरो नियतमाथि नै प्रश्न उठाउने काम भयो गणेशजी भन्नुभयो, मेरो समाचार स्रोत गलत परेछ त्यो कारणले तपाईंको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु भनेँ । उहाँले अंगालो हाल्नुभयो । समस्याको समाधान भयो’ बस्नेतले लेखेका छन् ‘प्रेस चौतारी नेपालको आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ । साथै आफू भ्रष्टाचारविरुद्ध कुनै समझौता नगर्ने उहाँको अडानमा समर्थन गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा एक्यवद्दता जनाइयो । यो अभियानमा साथ दिने प्रेस चौतारी नेपालका प्रिय मित्रहरू, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस सेण्टरका अध्यक्षलगायत सवै मित्रहरूप्रति आभारी छु ।’

बस्नेतले बुधबार ‘गृहमन्त्रीले पास गराएको सुन अर्थमन्त्रीले समाते भन्दै फेसबुकमा लेखेका थिए । त्यस्तै बस्नेतले नारायणकाजी जस्तो त्यागी, एक रुपैयाँ आम्दानी नभए पनि दैनिक ५० हजार खर्च गरेर हिडन सक्ने त्यागी गृहमन्त्री भएको बेला यस्तो होला भनेर कसरी पत्याउनु भन्दै प्रश्न गरेर फेसबुकमा पोस्ट गरेका थिए ।

“मलाई आएको सूचना यस्तो छ- ‘गृहमन्त्रीले पास गराएको सुन अर्थमन्त्रीले समाते ।’ मैले सोधेँ- कसरी ? जवाफ आयो खोज्नोस्, सत्य यही हो ।’ अब कसरी पत्याउनु ? नारायणकाजी कमरेड जस्तो त्यागी, एक रुपैयाँ आम्दानी नभए पनि दैनिक ५० हजार खर्च गरेर हिँड्न सक्ने त्यागी गृहमन्त्री भएको बेला यस्तो होला भनेर” बस्नेतले फेसबुकमा लेखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय