दार्चुला । दार्चुलामा ‘लम्पी स्किन’ रोगबाट २९ हजार तीन सय ३० पशुचौपाया संक्रमित भएका छन्। नौवटै स्थानीय तहमा यो रोगको संक्रमण फैलिएको छ। हालसम्म ‘लम्पी स्किन’बाट एक हजार चार सय ६९ पशुचौपाया मरेका छन्।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका सूचना अधिकारी खेमराज भट्टका अनुसार जिल्लाभरि यो रोगको संक्रमण फैलिएको छ।

लम्पी स्किनबाट बाच्छाबाच्छी, गाई, गोरु र भैँसी बढी प्रभावित भएका छन् । लम्पी स्किनबाट २८ हजार नौ सय ५१ बाच्छाबाच्छी, गाई, गोरु, तीन सय ७९ भैँसी संक्रमित भएका छन्।

हालसम्म एक हजार चार सय ४३ बाच्छाबाच्छी गाईगोरु र २६ वटा भैँसी मरेका छन्। लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन्। घरपालुवा पशुमा संक्रमण फैलिएर मर्न थालेपछि पशुपालक किसान चिन्तित बनेका हुन्।

शैल्यशिखर नगरपालिका– ९ का लक्ष्मीराज विष्टले भने, ‘रोग निकै फैलिएको छ। समयमै उपचार पाएका छैनन् ।’ पशु प्राविधिक आएर औषधि खुवाए पनि सुधार भएको छैन। झन दिनहुँ गाईगोरु मर्ने क्रम रोकिएको छैन। रोपाइँको सिजन चलिरहेको छ। गाईगोरु मर्दा कसरी रोपाइँ गर्ने भन्ने अवस्था आइसकेको उनले बताए।

भेटेरेनरी अस्पतालका सूचना अधिकारी भट्ट यो रोगको प्रभावकारी औषधि–उपचार नभएको बताउँछन्। यो नयाँ रोग हो। पशु प्राविधिकले प्रयास गरिरहेका छन्। तर, रोग जटिल बन्दै गएको छ।

नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको उनको भनाइ छ। लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ।

हरेक स्थानीय तहले गाउँ–गाउँमा पशु प्राविधिक खटाएर सक्दो प्रयास गरिरहेका मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी बताउँछन् । उनले भने, ‘भएका जनशक्तिको सम्पर्क नम्बर सार्वजनिक गरेर वडा–वडामा पठाएका छौँ। तर, नियन्त्रणमा आउन सकिरहेको छैन।’

उनका अनुसार यो रोग लागेका पशुचौपायामा ज्वरो आउने, सिँगान तथा र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन्। nayapatrikadaily

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय