दार्चुला । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपाल घरेलु टोली जिम्बावेलाई जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९० रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ९९ रन बनाउनुभयो ।

कुशलले ९५ बलमा १३ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । अर्को ओपनर आशिफ शेखले ६६ रन बनाउनुभयो । कुशल र आशिफले पहिलो विकेटका लागि एक सय ७१ रनको कीर्तिमानी साझेदारी गर्नुभयो ।

यो एकदिवसीयमा नेपालको हालसम्म्कै उच्च साझेदारी हो । यसअघि एकदिवसीयमा नेपालका लागि सर्वाधिक साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एक सय ३९ रनको साझेदारी गर्नुभएको थियो ।

यस्तै कुशल मल्लले ४१, कप्चतान रोहित पौडेलले ३१, गुलसन झाले १३, आरिफ शेखले १०, दीपेन्द्र सिंह ऐरीले ६ र करण केसीले दुई रन बनाउनुभयो । भिम सार्की पहिलो बलमै आउट हुनुभयो ।

बलिङमा जिम्बावेका रिचार्ड नगरभाले चार विकेट लिनुभयो । विलिङटन मासाकाड्जाले दुई तथा टेन्डई चतरा र ब्लेसिङ मुजाराबानीले एक एक विकेट लिनुभयो ।

जिम्बावेविरुद्ध आजको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हो । नेपालले जिम्बावेसँग यसअघि एउटा मात्र ५० ओभरको खेल खेलेको छ ।

सन् २०१८ मा जिम्बावेमै खेलिएको विश्वकप छनोट खेलमा नेपाल जिम्बावेसँग एक सय १६ रनले पराजित भएको थियो । त्यतिबेला नेपालको ओडिआई मान्यता नरहेकोले लिस्ट  ‘ए’ मान्यताको खेल भएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स छ ।

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

जिम्बावेविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय