दार्चुला । सुदूरपश्चिम प्रदेशभित्र ‘लम्पीस्किन’ प्रकोप भयावह बन्दै गएको छ। प्रदेशका नौवटै जिल्लाभित्र पशुहरुमा यो रोग फैलिदैँ गएको हो।

सुदूरपश्चिम प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी पुष्करराज नाथले पहाडी सबै जिल्लामा लम्पी देखिएको बताए। ‘तीमध्ये डोटी, अछाम, बझाङ बढी प्रभावित छन्,’ उनले भने, ‘भारतको सीमा जोडिएका क्षेत्रमा बढी प्रभाव देखियो।’ भारतसँग सीमा जोडिएका जिल्ला डडेल्धुरा, दार्चुला र सबैभन्दा बढी अछाममा क्षति भएको उनले बताए। पशु सेवा विभागका अनुसार सुदूरपश्चिममा ६८ हजार ४ सय ६१ गाईभैंसी प्रभावित छन् भने २ हजार ७ सय ४७ मरेका छन्।

यो रोग डडेलो झैँ फैलिरहेको निर्देशनालयले जनाएको छ। पशुहरुमा लाग्ने यो रोग न्युनिकरणका लागि सम्वन्धित निकायसँग समन्वय गर्ने काम भइरहेको निर्देशनालयले बताएको छ। आगामी आर्थिक वर्षको बजेटमा यो रोगका लागि खोपको व्यवस्थापन गर्न भन्दै प्रस्तावनासहितको फाइल प्रदेश सरकार समक्ष पेस गरिएको निर्देशनालयका सूचना अधिकारी नाथले बताए। प्रदेशका सबैतिर गाई, भैँसी र गोरुमा यो रोग देखा परेको छ। सबैभन्दा बढी गोरु र त्यसपछि गाई यो रोगबाट प्रभावित छन्।

पशु सेवा विभागका अनुसार यो झिंगा (डाँस), भुसुना, लामखुट्टे, किर्नाको टोकाइबाट सर्ने संक्रामक रोग हो। गर्मीयाममा बढी संक्रमण हुने यो रोग लागेका गाई, भैंसीको छालामा साह्रो गिर्खा देखिन्छ र उच्च ज्वरो आउँछ। रोग लागेसँगै गाईभैंसीको दूध उत्पादन ह्वात्तै घट्छ। रोग देखिनेबित्तिकै गाईभैंसीलाई बथानबाट छुट्याएर अलग्गै राख्न विभागको सुझाव छ।

ज्वरो आएका पशुलाई जोत्ने, गाडा तान्ने काममा नलगाई आराम गराउने र प्रशस्त मात्रामा सफा पानी खान दिनुपर्छ। रोग लागेपछि ज्वरो घटाउन पारासिटामोल वा मेलोक्सिकेम प्रयोग गर्नुपर्छ। घाउको चिलाइ न्यूनीकरणका लागि औषधिको प्रयोग गर्ने, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलम लगाउने गर्नुपर्छ। रोगका कारण शिथिल पशुलाई आवश्यकताअनुसार स्लाइन दिनुपर्छ। शरीरमा गिर्खाको संख्या अत्यधिक भएका पशुलाई आइभरमेक्टिन र घाउ पाकेको अवस्थामा प्राविधिकको सल्लाहअनुसार एन्टिबायोटिक्सको सुई लगाउनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय