दार्चुला । राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्न तयार हुनुभएको छ ।

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेर हद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै गाैतमले बुधवार दिउँसाे सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनुभएको हो । तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्षसमेत रहिसक्नुभएका गौतमको सर्त छ । विगतमा आफूलाई रोक्नकै लागि त्याे प्रस्ताव ल्याइएको उहाँकाे बुझाइ छ ।

गाैतमले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गर्नुभयो । एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै उहाँले एमालेप्रति माया लाग्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताउनुभयो । आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘यदि उहाँहरूले मलाई खबर गर्नुभयो, तपाईँ आउनुपर्‍याे भन्नुभयो भने म र मसित रहेका साथीहरू त्यहाँ (एमालेमा) एकीकृत हुन जान्छौँ । उहाँ (ओली) ले आउनुस् भन्नुपर्छ । किनभने पार्टी उहाँसँग छ । वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो ।’

यसैबीच पार्टी अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनुभयो । बुधवार दिउँसाे सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नुभयो नि भनी प्रश्न गरेका थिए । ओलीले अब थप केही कुरा छ र भन्ने प्रतिक्रिया दिनुभयो । उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँले सदस्यता एमालेमै छ भन्नुभयो होइन । अनि कुरा बाँकी छ, केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो । एकता अभियान चलाउनुभयो । त्यो अभियानमात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय