दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिमा ‘अपि बेश क्याम्प’भ्रमण सप्ताह शुरु भएको छ । बिहीबारदेखि भ्रमण सप्ताह शुरु भएको भएको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए ।

अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गरिएको हो । उनले भने ‘अपिहिमाल गाउँपालिकाको पर्यटन प्रवद्र्धनलाई टेवा पुर्याउने, प्रचारप्रसार र यहाँका प्राकृतिक सम्पदाहरुको बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले भ्रमण सप्ताहको आयोजना गरेका हौं ।’

७ हजार १३२ मिटर उचाईमा रहेको अपि बेश क्याम्पमा पुगेर अपि हिमाल, नाम्पा हिमाल र अन्य प्राकृतिक सम्पदाहरुको बारेमा जानकारी दिने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गरिएको अध्यक्ष बोहराले बताए । भ्रमण सप्ताहमा सहभागिताका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी लगायतको टोली पुगेको छ । पहिलो टोली आज पालिकादेखि अपि बेस क्याम्पका लागि हिँडेको अध्यक्ष बोहराले बताए ।

दोश्रो टोली वैशाख १७ गते र तेश्रो टोली वैशाख १९ गते वेश क्याम्पका लागि हिड्ने गाउँपालिकाकी उपाध्यक्ष देवकी बोहराले बताइन् ।

अपि वेश क्याम्पमा पुगेपछि अपि हिमाल, नाम्पा हिमाल, जेठी बहुरानी हिमाल लगायतको दृश्वालोकन गर्न पाइनेछ भने वेश क्याम्पमा रहेका विभिन्न तालहरुको समेत दृश्यवालोकन गर्न पाइने अध्यक्ष बोहराले बताए । यस्तै चमेलिया नदीको मूहान समेत वेश क्याम्पबाटै देख्न सकिने बताइएको छ ।

भ्रमण सप्ताहको समयमा मल्देशको संस्कृति, रहनसहन र चालचलनका बिषयमा समेत जानकारी दिनुका साथै सांस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अन्तर्गत रहेका होमस्टेहरुको बजार प्रवद्र्धनमा समेत भ्रमण सप्ताहले सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय