दार्चुला । आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई ५६ रनले हराएको छ ।

पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएई ४२ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयो । यूएईका लागि आर्यन लाक्राले ५१ र मुहम्मद वसीले ४१ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ३ तथा कबुआ मोरे र आसाद भालाले २र२ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनायो । पीएनजीका लागि सेसे बाउले नटआउट ८१, हिरी हिरीले ७७ र किप्लिन डोरिगाले ५५ रन बनाए । बलिङतर्फ यूएईका लागि आयन अफजल खानले ३ तथा जुनैद सिद्दिकी र जहूर खानले २र२ विकेट लिए ।

लिग–२ मा पीएनजीसँग यूएईको यो लगातार चौथो हार हो । यो हारसँगै यूएईले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्ने सम्भावना सकिएको छ । यूएईको सोझै एकदिवसीय मान्यता पाउन पनि बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । यूएई ३३ खेलमा ३१ अङ्कसहित लिग–२ तालिकाको छैटौँ स्थानमा छ । एकदिवसीय मान्यता कायम राख्न तालिकाको शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ । पीएनजी ३४ खेलमा ११ अङ्कसहित तालिकाको पुछारमा छ । नेपाल ३३ खेलमा ३४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

कीर्तिपुरमा भइरहेको नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला लिग–२ को अन्तिम शृङ्खला हो ।

नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुनरजुलाईमा जिम्बावेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

लिग–२ का शीर्ष तीन टोलीले सोझै विश्व कप छनोट खेल्न पाउँछन् । स्कटल्यान्ड ५० अङ्कका साथ विजेता बन्दै र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका छन् । बाँकी एक स्थानका लागि अब नेपालसहित नामिबिया प्रतिस्पर्धामा छन् । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय