दार्चुला । नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति बिना सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिएको छ ।
यसअघि नागरिक उन्मुक्ति पार्टीले मत नदिएकै कारण एमाले नेतृत्वको सरकार ढलेर सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन भएको थियो । अहिले फेरि नागरिक उन्मुक्ति पार्टीले लिखित प्रतिबद्धता मागेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ, दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन’ ।
नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले सरकारमा जाने अवस्थामा मन्त्रालयको भागबण्डाका सम्बन्धमा लिखित प्रतिबद्धता दिनुपर्ने माग पार्टीको रहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि विश्वासको मत लिँदै हुनुहन्छ ।
५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । अहिले कांग्रेसका १९ सांसद छन् । उहाँलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादीका चार सांसद छन् । प्रदेश सभामा माओवादीका सभामुख सहित ११ र नागरिक उन्मुक्तिको सात सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा विश्वासको मत भने पुग्छ ।