दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–२ का जयसिंह धामीको तुइन चुडिँदा महाकालीमा बेपत्ता भएको ठाउँ मालघाटमा झोलुङे पुल निर्माण भएको छ। वि।सं। २०७८ साल साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा धामी महाकालीमा खसेको ठाउँ मालघाटमा नेपाल–भारत छोड्ने झोलुङे पुल निर्माण भएको हो।

बिहीबार (भोलि) मालघाट र व्याँस गाउँपालिका–४ बर्तीघाट (मालघट्टे) का दुई झोलुङे पुल सञ्चालनमा आउँदैछन्। नेपाल–भारत जोड्न महाकाली नदीमाथि निर्माण सम्पन्न भएका ती दुई पुलको भोलि एक कार्यक्रमकाबीच उद्घाटन गरेर सञ्चाउनमा ल्याइने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

‘मालघाट र मालघट्टेको झोलुङे पुल भोलिदेखि सञ्चालनमा आउँछ, भारतीय प्रशासनका तर्फबाट डीएम उद्घाटन कार्यक्रम सहभागी हुनेछन्,’ उनले भने। सीडीओ उपाध्यायका अनुसार नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनबाट निर्माण गरिएका पुल दुवै देशका सम्बन्धित जिल्लाका अधिकारीको समन्वयमा औपचारिक सञ्चालन गर्न लागिएको हो।

मालघाट र मालघट्टेमा झोलुङे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता हट्ने स्थानीयको विश्वास छ। पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्ने छ। भारततर्फको पुलको सुरक्षाका लागि भारतीय प्रशासनलाई पत्राचार गरिएको सीडीओ उपाध्यायले बताए।

मालघाट गस्कुको झोलुङे पुलको सुरक्षा दुम्लिङमा रहेको सशस्त्र प्रहरी र मालघट्टेको पुलको सुरक्षा सुन्सेराको जनपद प्रहरीले गर्ने छ। महाकालीमा झोलुङे पुल निर्माण भएर सञ्चालनमा आएसंगै तुइन र ट्युवको जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता हट्दै गएको छ।

महाकाली किनारका दार्चुलाबासी किनमेल तथा मेलापातका लागि पारी भारततर्फ जाने गर्दछन्। पुल नहुँदा ट्युव र तुइनको सहायताले ज्यानको बाजी थापेर पारी जानु पर्ने दार्चुलाबासीको बाध्यता छ। त्यस क्रममा कतिपय तुइन र ट्युबबाट खसेर महाकालीमा बेपत्ता भएका छन्।

‘महाकालीमा पुल बनेपछि तुइन र ट्युवबाट वारिपारी गर्नुपर्ने बाध्यता हटेको छ,’ व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले भने, ‘अब वैधानिक रुपमा पुलबाट यहाँका मानिस नेपाल–भारत ओहोरदोहोर गर्न सक्छन्।’

दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्न १० वटा झोलुङे पुल छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापित अभियान अन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा ४ वटा पुल सञ्चालनमा आएका छन्।

मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्याँस गाउँपालिका–६ वडूगाउँमा गत वर्ष पुल सञ्चालनमा आएको थियो। व्याँस गाउँपालिका–२ मालघाट गस्कु र वडा नं। ४ वर्तीघाट मालघट्टेमा पुल निर्माण सम्पन्न भइसकेको छ।

यस्तै, दार्चुलाको खलंगास्थित पुलघाट, व्याँसको सीतापुल, तिग्रम, महाकालीको दत्तु र लेकमको लालीमा झोलुङे पुल सञ्चालनमा रहेको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाललाई तुइनमुक्त बनाउने घोषणा गरेका थिए।

देशलाई तुइनमुक्त बनाउने ओलीको सपना साकार हुँदै गएको पालिका अध्यक्ष धामीले बताए। ‘केपी कमरेड पहिलो पटक प्रधानमन्त्री हुँदा तुइनमुक्त बनाउने घोषणा गर्नुभएको थियो, उहाँको सपना साकार भएको छ,’ उनले भने।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल पनि बन्दैछ। व्याँस गाउँपालिकाको तावाघाट, दुम्लिङ र बुदी क्षेत्रमा पनि झोलुङे पुलको आवश्यकता रहेको पालिका अध्यक्ष धामी बताउँछन्।

‘पुल बनेपछि नेपाल–भारत ओहोरदोहोर गर्ने परम्परागत घाटहरु विस्थापित हुँदै गएका छन्,’ उनले भने, ‘तावाघाट, दुम्लिङ र बुदी क्षेत्रमा अझै तुइनकै भर भएकाले सो क्षेत्रमा पनि झोलुङे पुल अनिवार्य छ।’ simarekha.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय