दार्चुला । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको छ ।

नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले २० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका रुबेन ट्रमपेलमानले ३ र जन निकोल लोफ्टी–एटनले २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायो । नामिबियाका लागि माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाए । १ सय ३७ बलको सामना गरेका लिगेनले ९ चौका र ५ छक्का प्रहार गरे । एकदिवसीयमा उनको यो अहिलेसम्मकै व्यक्तिगत उच्च स्कोर हो । यस्तै कप्तान गेरहार्ड इरासमसले ५६ र जेन ग्रीनले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ५, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले १र१ विकेट लिए ।

यो एकदिवसीय क्रिकेटको इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले सन् २०१९ मा यूएईले दिएको २ सय ४४ रनको लक्ष्य ६ विकेट गुमाउँदै ४४ ओभर ४ बलमा भेटाएको थियो ।

यो जितसँगै नेपाल सात देश सम्मिलित आईसीसी विश्व कप क्रिकेट लिग–२ मा २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय