दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्तम अन्तरगत गाउपालिकाको कृषि तथा पशु विकास शाखाले सञ्चालन गर्ने गरि गाउँपालिकाका २ वटा विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गरिएको हो ।

गाउँपालिका भित्रको बढ्दो बेरोजगारी र कृषि क्षेत्रको आयात विस्तापन गर्ने उदेश्यले पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको कृषि तथा पशुपन्छी विकास शाखा प्रकाश सिंह धामीले बताउनुभयो । अहिले गाउँपालिकाका २ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको र अगामी बर्ष थप विद्यालयमा कार्यक्रम सञ्चालनको लागी छलफल भइरहेको उहाँले बताउनुभयो ।

अहिले गाउँपालिकाको वडा नम्बर ६ को जनहित माध्यमिक विद्यायमा व्यवसायिक तरकारी खेती र गाउँपालिकाकै वडा नम्बर ४ मा रहेको गणेश विनायक माध्यमिक विद्यालय सिप्टीमा पशुपन्छी फार्म सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
व्यवसायिक तरकारी खेतीको लागी वडा नम्बर ६ को जनहित माध्यमिक विद्यालयमा काम सुरु भइसकेको कृषि शाखा प्रमुख धामीले बताउनुभयो । गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त विद्यालयमा व्यवसायिक तरकारी खेतीको लागी २ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । उक्त विद्यालयमा व्यवसायिक तरकारी खेती विस्तारको लागी  प्रमानेन्ट पोली हाउँस निर्माण, नरसरी, थोपा सिचाइ प्रणाली, रसायनीक मल लगायतको व्यवस्था कृषि शाखाले गर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाकाई कृषि उत्पादनमा थप आत्मानिर्भर बनाउनको लागी कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको र अहिले गाउँपालिकाका विद्यालयमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमको लागी आवश्यक पर्ने तरकारी सोही कार्यक्रमबाट परिपुर्ती गर्ने तयारी रहेको पनि धामीले बताउनुभयो । “अहिले विद्यालयमा दिवा खाजा कार्यक्रम अन्तरगत दैनिक १० किलो तरकारी खरिद गर्नुपरेको छ, यसरी दैनिक १० किलो तरकारीमा खरिदमा मात्रै गाउँपालिकाको दैनिक ७ सय ५० रुपैँया खर्च हुने गरेको छ, यसरी बार्षिक लाखौ रकम खर्च भइरहेको छ। ” उहाँले भन्नुभयो ।

 

त्यस्तै गाउँपालिकाको वडा नम्बर ४ मा रहेको गणेश विनायक माध्यमिक विद्यालयमा प्रयोगात्मक पशुपन्छी फार्म स्थापनाको तयारी भइरहेको छ।
विद्यालयमा अध्यनरत रहेका विद्यार्थीलाई प्रयोगात्मक विधिबाट अध्यापन गराउने उदेश्य सहित प्रयोगात्मक पशुपन्छी फार्म स्थापना गरिन लागेको कृषि शाखा प्रमुख धामीले बताउनुभयो । “विद्यालयमा १८ महिने जेटिए पढ्ने विद्यार्थी छन, विद्यार्थीलाई प्रयोगात्मक विधिबाट उपलब्धी मुलुक शिक्षा प्रदान गर्न उक्त कार्यक्रम प्रभावकारी हुने हामीले विश्वास लिएका छौ” धामीले भन्नुभयो।

पशुपन्छी फार्म स्थापनाको लागी गाउँपालिकाले २ लाख रुपैया बजेट विनियोजन गरेको छ । पढाइ सके पछि धेरै विद्यार्थी पलायन हुने समस्या रहेकोले त्यसलाई रोक्नको लागी र विद्यार्थीको मनोबल बढाउनको लागी पढदै कमाउदै कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले बताउनुभयो ।

कृषि क्षेत्रमा आधुनिकिकरण गरि गाउँपालिकालाई कृषि उपज बस्तुमा आत्मानिर्भर बनाउने उदेश्य सहित काम भइरहेको उहाँले बताउनुभयो । अहिले गाउँपालिकाका हरेक वडामा ४-४ जना कृषि प्राविधिक रहेका छन। गाउँपालिकाले कृषकका समस्या घरमै गएर समाधान गरिरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय