दार्चुला । पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनाका प्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले दिवङ्गतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस घटनाको कारण जाँच गर्नका लागि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ । समिति सदस्यहरूमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनील थापा, जहाज मर्मत–सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ ।

बैठकले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिने र आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर घटनाको बारेमा जानकारी लिनुभएको थियो । उहाँले राज्यको सबै शक्ति लगाएर भए पनि उद्धारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्षलाई निर्देशन पनि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय