दार्चुला । दार्चुलामा नवजात शिशु मृत्युदर नरोकिएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङकले देखाएको छ । पछिल्ला ३ बर्षमा जिल्लामा १ सय ३० जना नवजात शिशुको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

आर्थिक बर्ष २०७६–७७ मा ३० जना नवजातशिशुको मृत्यु भएको छ। जसमा ब्याँस गाउँपालिकामा ५ जना, दुहुँ गाउँपालिकामा २, महाकाली नगरपालिकामा ७, नौगाड गाउँपालिकामा ५, अपिहिमाल गाउँपालिकामा २, शैल्यशिखर नगरपालिकामा ७ र लेकम गाउँपालिकामा २ जना नवजात शिशुको मृत्यु भएको थियो । सो अवधिमा जिल्लाको मालिकार्जुन गाउँपालिका र मार्मा गाउँपालिकामा नवजातशिशु मृत्यु दर शुन्य रहेको छ।

त्यस्तै आर्थिक बर्ष २०७७–७८ मा ५७ जना नवजात शिशुको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ । जसमा नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकामा सबै भन्दा बढी १७ –१७ जना नवजातशिशुको मृत्यु भएको छ । त्यस्तै दुहुँ गाउँपालिकामा ९ जना, मार्मा गाउँपालिकामा ६ जना, ब्याँस गाउँपालिकामा ४ जना र माहाकाली नगरपालिका तथा अपि हिमाल गाउँपालिकामा २–२ जनाको मृत्यु भएको छ। २०७७–७८ मा मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा नवजात शिशु मृत्युदर शुन्य रहेको छ। गत आर्थिक बर्ष २०७८–७९ मा ३८ जना नवजात शिशुको मृत्यु भएको छ। जसमा माहाकाली नगरपालिकामा सबै भन्दा बढी ९ जनाको मृत्यु भएको छ। त्यस्तै शैल्यशिखर नगरपालिका र नौगाड गाउँपालिकामा ७ –७ जना, ब्याँस गाउँपालिका र दुहुँ गाउँपालिकामा ६–६ जना, मालिकार्जुन गाउँपालिकामा २ जना र लेकम गाउँपालिकामा १ जना नवजातशिशुको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।२०७८–७९ मा जिल्लाको मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा नवजातशिशु मृत्यु दर शुन्य रहेको छ।

दार्चुला जिल्ला भरी सुरक्षित प्रसुतीको लागी ४८ वटा प्रसुती गृह सञ्चालनमा रहेका छन। तर पनि नवजातशिशु मृत्युदर भने रोकिएको छैन ।

प्रशुति गृह सञ्चालनमा रहेका भए पनि दक्ष जनशक्ति अभाव, स्वास्थ्य सामग्री नहुनु, गर्भवती महिलाले बच्चा जन्माउन स्वास्थ्य संस्थामा नआउनु लगायतका कारण नवजात शिशु मृत्युदरमा कमी आउन नसकेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जय राज भट्टको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय