दार्चुला । दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत निर्माण अन्तिम चरणमा पुगेको छ। अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको सो आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो। अपि पावरको यो छैटौं आयोजना हो।

आगामी वैशाखभित्र आयोजनाको निर्माण पुरा भएर व्यापारिक उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले बताए। हाल आयोजनाको विद्युत् गृह, सर्ज टंयाक, सबस्टेशनको निर्माण कार्य शतप्रतिशत पुरा भइसकेको छ भने एलान्मेण्टतर्फ ८ सय मिटर पाइप जडान र बाँधस्थलको अन्तिम सिभिल कार्य चलिरहेको छ।

शेयरधनीहरूलाई निरन्तर रूपमा लाभांश वितरण गर्दै आएको अपिले छैटौं आयोजनाबाट व्यापारिक उत्पादन शुरू गरेपछि अझ आकर्षक लाभांश दिन सक्ने क्षमतामा पुग्ने न्यौपानेले बताए। दार्चुला जिल्लामा बग्ने चमेलिया नदीको पानी उपयोग गरी अपिले ४० मेगावाट क्षमताको यो आयोजना निर्माण गरिरहेको हो।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको चमेलिया जलविद्युत् आयोजनाको बलाँच सबस्टेशनमा १३२ केभी टावरहरूबाट जडान गरिनेछ। यस आयोजना निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले हकप्रद शेयर निष्कासन गरेको थियो। पाँच वर्षको लाभांश वितरणको इतिहासलाई हेर्दा अपिले ११ दशमलव शून्य ५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ।

आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट अपिले हालसम्मकै उच्च लाभांश वितरण गरेको हो। गत वर्षको मुनाफाबाट भने अपिले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य ३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले यसअघि दार्चुला जिल्लामा ८ दशमलव ५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना र ८ मेगावाट क्षमताको माथिल्लो नौगड गाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा विद्युत् प्रवाह गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय