दार्चुला । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त हुनुभएको छ ।

बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखबाट पाएको समयसीमा सकिनुभन्दा दुई घण्टाअघि ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको थियो ।

जम्मकट्टेललाई माओवादी केन्द्रका २१, एमालेका २७, राप्रपाका १३, नेकपा एकिकृत समाजवादीसहित ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थन रहेको छ । एक सय १० सदस्यीय प्रदेशसभा सदस्य रहेको बाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ ।

बाग्मतीमा गठबन्धनका तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गरी ६१ सिट छ । सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए । गठबन्धनमा भएको सहमतिअनुसार बाग्मतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र उपसभामुख एमालेले पाएको छ । बाग्मतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नु भएको थियो ।

अहिले नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बाग्मती प्रदेशको चौँथो मुख्यमन्त्री बन्नु भएको छ । यस प्रदेशमा नेकपा एमाले र माओवादीले आलोपालो मुख्यमन्त्री पाउने भएपछि पहिलो चरणमा भने माओवादीले यसको नेतृत्व गर्ने सहमती भएको छ ।

अहिले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका जम्मकट्टेल यसअघि २०७४ मा नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्थ्यो । नेकपा विभाजन हुँदा उहाँले मन्त्री पदबाट राजीनामा दिनु भएको थियो । २०७४ को निर्वाचनमा धादिङ क्षेत्र नम्बर– १ को प्रदेशसभा ९ख० बाट निर्वाचित हुनु भएका जम्मकट्टेल ४ मंसिरमा भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनु भएको हो ।

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिनु भएका जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज समेत हुनुहुन्छ । २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उहँले विद्यार्थी राजनीति सुरु गर्नु भएको थियो ।

२०४८ बाट उहाँ मजदुर संगठनमा लाग्नु भएको थियो । औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष हुनुभएको उहाँ २०५२ सालमा माओवादी युद्धमा होमिनुभयो । त्यसयता माओवादीमा निरन्तर क्रियाशील उहाँ २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भएर काम गर्नुभयो ।

बीए, बीएल सम्मको अध्ययन गरेका जम्मकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुग्नु भएको हो । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर– ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आउनु भएको थियो । यद्यपि २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने उहाँ पाण्डेसँगै पराजित हुन पुग्नुभयो ।

यस पटक गठबन्धनको भागबण्डामा धादिङ १ मा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दाबी नछाडेपछि उहाँ पुनः प्रदेशसभा सदस्यमा दोहोरिनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय