दार्चुला । चमेलिया लगायतका साना ठुला दर्जनौ विद्युत आयोजना उत्पादन गरेको दार्चुलाका आधा जनता अझै पनि राष्ट्रिय प्रसारणको विद्युत पहुच बाहिर रहेका छन । जिल्लाका करिब ४६ प्रतिशत जनता राष्ट्रिय प्रसारण लाइनको विद्युत पहुच बाहिर रहेका छन । हाल सम्म जिल्लाका करिब ५४ प्रतिशत जनता मात्रै राष्ट्रिय प्रसारण लाइनको विद्युत पहुचमा रहेको नेपाल विदुत वितरण केन्द्र दार्चुलाले जनाएको छ । हालसम्म दार्चुलाको ५३ दशमलव ७० प्रतिशत घरधुरीमा विजुली बलेको नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख मोहनदेब जोशीले जानकारी दिनुभयो ।

नौँ वटा स्थानीय तह रहेको दार्चुलाका आठ स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । दुर्गम स्थानीय तह अपिहिमाल गाउँपालिकामा हालसम्म कुनैपनि वडामा बिजुली बलेको छैन् । अपिहिमालको वडा नम्बर ५ लुम्थि, सौगन्नामा लाइन विस्तार भएपनि ट्रान्सफर्मर जडान गरेर बिजुली बाल्न बाँकी रहेको प्रमुख जोशीले बताउनुभयो । नौगाड गाउँपालिकाको पनि दल्लेख र धुलिगडा क्षेत्रमा मात्रै राष्ट्रिय प्रसारणको विद्युत लाइन विस्तार भएको छ । केही घरपरिवारले लघुजलविद्युत, सोलार लगायत बैकल्पिक उर्जाका स्रोतहरुको व्यवस्थापन गरेपनि अधिकासं जनता अन्धकारमा बस्न बाध्य रहेका छन् ।

दार्चुलाको ४६ प्रतिशत जनता अझैपनि राष्ट्रिय प्रसारणको विद्युतको पहुँच बाहिर रहेका छन् । विद्युत अभावमा विभिन्न समस्या झेल्नुपरेको र रातीको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको अपिहिमाल गाउँपालिकाका स्थानीय पार्वती ठेकरेले गुनासो गर्नुभयो । चमेलिया लगायत साना ठूला जलविद्युत उत्पादन गरेको दार्चुलामा अहिलेसम्म अण्डै आधा घरधुरीमा विद्युतिकरण नै हुन सकेको छैन् । सरकारले चालु आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा विद्युतिकरण गरिसक्ने लक्ष्य लिएकोमा लक्ष्य अनुसार काम हुन सकेको छैन् । विद्युत कार्यालय र निर्माण व्यवसायी लगायत सरोकारवाला जिम्मेवार नबन्दा दार्चुलामा विद्युतिकरणमा ढिलाइ भइरहेको छ । सरोकारवालाहरुको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण विद्युत विस्तारमा लक्ष्यअनुसार प्रगति हुन नसकेको लेकमका स्थानीय पल्लबराज जोशीले बताउनुभयो । विद्युतिकरण भइसकेको ठाउँमा समेत बेलाबेला विद्युत सेवा अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ ।

विगतमा टेन्डर भएको क्षेत्रमा विद्युतिकरणको काम भइरहेको र चालु आर्थिक वर्षमा विद्युत वितरण केन्द्रमा विद्युतिकरणका लागि प्रयाप्त बजेट नै नरहेको कार्यालय प्रमुख मोहनदेब जोशीको भनाई छ । दार्चुला विद्युतिकरण आयोजनाले विद्युतिकरणको काम गर्ने भनेर विद्युत वितरण केन्द्रको बजेट कटौती गरिएको छ, उहाँले भन्नुभयो, दार्चुला विद्युतिकरण आयोजनाको समेत अहिलेसम्म निर्माण प्रकृया अघि बढ्न सकेको छैन् । झण्डै एक अर्ब बजेट रहेको उक्त कार्यक्रमका लागि पटकपटक टेण्डर आह्वान हुँदा समेत टेण्डरनै नपरेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । अहिले तेस्रो पटक टेण्डर आह्वान भएकोले टेण्डर स्वीकृत भए विद्युतिकरणको काम तिब्रताका साथ अगाडी बढ्ने उहाँको भनाई छ । दार्चुला विद्युतिकरण आयोजनाको काम सम्पन्न भएमा दार्चुलाको सबै घरधुरीमा बिजुली बलिसक्ने विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख जोशीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय