दार्चुला । सुदूपश्चिममा अपराध बढ्दै गएको छ। कर्तव्य ज्यान, जवरजस्ती करणी, ठगी, काठ तस्करी, सवारी ज्यान, बहु विवाह, लागु औषध, ज्यान मार्ने उद्योग, जडिबुटी ओसारपसार, कुटपिट, अपहरण र लुटपाट लगायत अपराधिक गतिविधि बढेको हो। सबैभन्दा बढि कैलाली, कञ्चनपुर र त्यसपछि सबैभन्दा बढि अपराध बाजुरामा हुँदै आएको छ।

जघन्य अपराधमा संलग्न फरार प्रतिवादीलाई कैलाली प्रहरीले प्राथमिकतामा राखेर खोजी कार्य तीव्र पारेको प्रवक्ता वेदप्रकाश जोशीले बताए। ‘खुला सीमानाका कारण कतिपय अभियुक्त भारतमा लुकेर बसेको हुन सक्छ। हरेक प्रहरी युनिटलाई फरार अभियुक्तको नाम, ठेगाना, तस्वीरसहित अपराधको पूर्ण विवरण समेत पठाएर खोजी कार्य गर्दै आएका छौँ।’

कैलाली, कञ्चनपुर, डोटी, दार्चुला, बाजुरा, बैतडी, बझाङ, अछाम, बाजुरामा गरी विभिन्न अपराधमा संलग्न दुई सय ५७ जना अझै फरार छन्। ती मध्ये २७ महिला प्रहरीको सर्वाधिक खोजीको सुचीमा छन्। आर्थिक वर्ष २०७८र७९ सम्म एक सय ६० पुरुष र १९ महिला गरी एक सय ७९ जना अपराधमा संलग्न फरार भएको अभिलेख छ भने चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ७० पुरुष र ८ जना महिला गरी ७८ जना फरार अभियुक्त थप भएका छन्।

जघन्य अपराधमा दोषी ठहर फरार प्रतिवादी प्रहरीको सर्वाधिक खोजीमा रहेको दाबी छ। प्रदेशभित्र अपराधिक गतिविधि रोक्न प्रहरी सफल बन्न नसकेको सरोकारवाला बताउँछन्। ज्यान मार्ने उद्योगदेखि जबरजस्ती करणीका घटना पटकपटक दोहोरिएका छन्। अदालतबाटै दोषी ठहर भएका व्यक्तिलाई समेत प्रहरीले पक्राउ गर्न सकेको छैन्।

सुदूरपश्चिममा सवारी ज्यान, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग अन्तर्गत संलग्न ३८ जना अझै फरार छन्। त्यस्तै जबरजस्ती करणी र जवरजस्ती उद्योग अन्तर्गत २९ जना फरार छन्। ‘फरार अभियुक्त खोजीका लागि जिल्ला प्रहरी कार्यालय, सम्वन्धित प्रहरी युनिटले काम गर्दै आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता भोलाबहादुर रावलले बताए।

‘अदालतले फैसला गरी दोषी ठह¥याइएका अपराधी र अदालतमा मुद्दा चलिरहेका अभियुक्त, प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने, तर फरार सूचीमा रहेकाहरूको खोजीकार्य प्राथमिकतामा राखेका छौँ,’ उनले भने। अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका, तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई प्रहरीले विशेष रुपमा खोजी गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय