दार्चुला । हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ। हिउँदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको छ। लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ।

यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको मालिकार्जुन गाउँपालिका–३ का किसान कासीसिंह धामीले बताए। आकाशे पानीको भरमा खेती गरिने जिल्लाको अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो बाली सुक्न थालेको छ।

जिल्लामा पाँच हजार ९६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ३२ दशमलव सात प्रतिशत जमिनमा मात्रै मात्रै सिँचाइको सुविधा छ। सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेको उनको भनाइ थियो।

सिँचाइको सुविधा नभएको उक्त क्षेत्रमा हिउँदेबाली लगाएपछि पानी नपरेका कारण बाली सुक्न थालेको शैल्यशिखर नगरपालिका–६ का अर्का किसान अकबर सिंह खत्रीले बताए। जिल्लाको अन्य क्षेत्रमासमेत बाली सुक्न थालेको किसानहरुले बताएका छन्। कतिपय ठाउँमा सिँचाइको लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ।

 

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन्। वर्षे बालीमा समेत वन्यजन्तुले क्षति गरेका कारण खासै उत्पादन नभएको र हिउँदेबाली खडेरीले सुक्न थालेपछि चिन्तित भएका दार्चुलाका किसानले सिँचाइको लागि स्थानीय सरकाले उपयुक्त व्यवस्था गर्न नसकेको गुनासो गरे।

 

गतवर्ष दार्चुलामा १४ हजार एक सय तीन मेक्ट्रिक टन गहुँ उत्पादन भएकामा यो वर्ष भने समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय