निर्वाचन आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारीसमक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो ।

चुनाव–२०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन पेस हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नतिजाको पूर्णविवरणसहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रदेशको हकमा आयोगका पदाधिकारीले प्रदेश प्रमुखसमक्ष आउँदो पुस २ गते प्रदेश सभा सदस्य चुनावको प्रतिवेदन प्रस्तुत गर्नेछन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर तेस्रो हप्ता मात्रै सकिएकाले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

आयोगको अन्तिम परिणामअनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जना प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ १८४ जना पुरुष निर्वाचित भएका छन् । प्रदेश सभातर्फ ३ सय ५० जना पुरुष निर्वाचित भएका छन् । प्रतिनिधि सभामा ९१ जना महिला र प्रदेश सभामा दुई सय जना महिला निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा सदस्य चुनावमा ८६ वटा राजनीतिक दल दर्ता भएका थिए । जसमध्ये प्रत्यक्षतर्फ ६१ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल सहभागी भएका थिए । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । जसमध्ये बन्दसूची पेस गर्ने ४७ दलमध्ये ४० दलको धरौटी जफत भएको छ । प्रदेश सभातर्फ प्रदेश १ मा ३०, मधेसमा २६, बाग्मतीमा ३३, गण्डकीमा २४, लुम्बिनीमा २२, कर्णालीमा २२ र सुदूरपश्चिममा २८ वटा दलको धरौटी जफत भएको छ ।

चुनाव–२०७९ बाट ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलले प्रतिनिधि सभामा समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत प्राप्त गरेको र प्रत्यक्षतर्फ एक सिट जितेको हुनुपर्छ ।

प्रदेश सभातर्फको समानुपातिकमा प्रतिनिधित्वका लागि दलले कुल सदर मतको १ दशमलव ५ प्रतिशत मत ल्याउनुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधि सभातर्फ संसदमा १२ दलको प्रतिनिधित्व भएकोमा ७ दल कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । नेकपा ९एकीकृत समाजवादी०, नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाको जमानत जफत भएको छ । प्रत्यक्षमा एक सिट पनि नजित्ने ३५ वटा दल छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय