दार्चुला । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट १० युवा निर्वाचित भएका छन् । ४० वर्षसम्मका ७ सय ५९ जना प्रतिस्पर्धामा उत्रेकामा १.३१ प्रतिशत मात्र विजयी भएका हुन् । नवनिर्वाचितमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका ३, एमाले र नागरिक उन्मुक्ति पार्टीका २–२ तथा कांग्रेस, माओवादी र राप्रपाका १–१ जना ४० वर्ष नकटेका छन् ।

प्रत्यक्षमा निर्वाचितमध्ये काठमाडौं–२ की सोविता गौतम कान्छी हुन् । २७ वर्षीया गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी थिइन् । स्वतन्त्र पार्टीबाटै ललितपुर–३ मा निर्वाचित तोसिमा कार्कीको उमेर ३३ वर्ष छ । स्वतन्त्र पार्टीबाट ३९ वर्षीय हरि ढकाल चितवन–१ बाट चुनिएका छन् । मकवानपुर–२ बाट एमालेका ४० वर्षीय महेश बर्तौला आफ्नै राजनीतिक गुरु विरोध खतिवडालाई पराजित गरेर सांसद बनेका छन् । खतिवडा २०४८ पछि आमनिर्वाचनमा लगातार उम्मेदवार हुँदै आएका थिए । एमालेनिकट अनेरास्ववियुबाट राजनीति सुरु गरेका बर्तौला पहिलो पटक संसद् प्रवेश गर्दै छन् । बारा–३ बाट निर्वाचित एमालेकी ज्वालाकुमारी साह ४० वर्षीया हुन् ।
नागरिक उन्मुक्ति पार्टीका कैलाली–२ बाट निर्वाचित अरुणकुमार चौधरी ९३७ वर्ष र कैलाली–१ की रञ्जिता श्रेष्ठ ९३९ वर्ष० पनि युवा प्रतिनिधिसभा सदस्य हुन् । प्रतिनिधिसभा सदस्यबाट निर्वाचित मुस्ताङका २९ वर्षीय योगेश गौचन थकाली कांग्रेसका एक्ला युवा सांसद हुन् । मोरङ–४ बाट प्रतिनिधिसभा निर्वाचित अमनलाल मोदी ३७ वर्षका छन् । २०७० मै समानुपातिकबाट संविधानसभा सदस्य बनेका उनी २०७४ मा पनि मोरङ–४ बाट प्रत्यक्षतर्फ चुनिएका थिए । जुम्लाबाट निर्वाचित राप्रपाका ज्ञानेन्द्र शाही ३० वर्षीय हुन् ।

राजनीतिमा युवा सहभागिता बढाउनुपर्ने आवाज उठिरहे पनि प्रमुख राजनीतिक दलहरूले नै न्यून संख्यामा मात्र युवालाई उम्मेदवार बनाएका थिए । चुनावमा दुई तिहाइ उम्मेदवार ४० वर्षमाथिका थिए, मतदाता भने आधाजसो ४० वर्षमुनिका थिए । युवा सांसद १० जनामध्ये आधा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका हुन् । प्रत्यक्षमा निर्वाचितमध्ये ४१ देखि ६० वर्षसम्मका ९८ जना छन् । ७० वर्ष माथिका १४ जना छन् । यसमा कांग्रेसका ५, एमाले, लोसपा र राप्रपाका २–२ तथा जसपा, जनमोर्चा र माओवादीका १–१ जना छन् । ८० वर्षभन्दा माथिका तीन जना छन् । लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर ८०, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी ८१ र माओवादीका महिन्द्र राय यादव ८५ वर्षका हुन् ।

नवनिर्वाचित युवा सांसद परिवर्तनको पक्षमा माहोल बनाउन आफूहरूले भूमिका निर्वाह गर्ने बताउँछन् । एमाले सांसद बर्तौला नवनिर्वाचित युवाले जनभावना बुझ्न नसके दल र पुरानो नेतृत्वप्रति झन् ठूलो वितृष्णा पैदा हुने बताउँछन् । ‘निर्वाचित भएपछि नागरिकको कुरा उठाउनेभन्दा पनि मन्त्री हुने र व्यक्तिगत स्वार्थमा लागेर पदका लागि मरिहत्ते गर्ने संस्कृति विकास हुनु दुर्भाग्यपूर्ण हो । निर्वाचन जितेपछि जनप्रतिनिधिले सबै नागरिकको भावनाको प्रतिनिधित्व गर्नुपर्छ,’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम पुराना दलहरूले गरेको गल्ती नदोहोर्‍याउने गरी युवामैत्री कानुन बनाउन आफ्नो भूमिका रहने बताउँछिन् । उनी कानुनकी विद्यार्थी हुन् । ‘नयाँ–नयाँ विषय र सन्दर्भ आइरहेका छन् । हामी ४२ प्रतिशत युवाको भावनाअनुसार कानुन निर्माणमा जोड दिन्छौं,’ उनले भनिन्, ‘युवा मुद्दा नै पहिलो प्राथमिकता हो ।’

स्वतन्त्र पार्टीका हरि ढकाल संसद्मा आफूहरूले समाजप्रति उत्तरदायी भएर काम गर्ने बताउँछन् । ‘हामी कुनै एउटा निर्वाचन क्षेत्र होइन, मुलुकभरका नागरिकलाई छुने कानुन बनाउन प्रयत्न गर्छौं,’ उनले भने । नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी कृषि, वैदेशक रोजगारी, शिक्षामा भएको राजनीतीकरण जस्ता विषयलाई आफूले प्राथमिकतासाथ उठाउने बताउँछन् । ‘पुरानो राजनीतिक शक्तिकै सिको गरेर परिवर्तन हुँदैन,’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय