दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–४ डोब स्थित गोदार खोलामा मृत भेटिएका ४० वर्षीय नरसिंह विष्ट (नरेन्द्र) को हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले सोमबार बिष्टको हत्या घटनामा संलग्न भन्दै व्याँस गाउँपालिका–४ डोकट चौपखेका २५ वर्षीय दिपक बिष्टलाई सार्वजनिक गरेको हो ।

मृतक बिष्ट विगत १० वर्षदेखि दार्चुला सदरमुकाम खलंगामा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो । श्रीमति र चार जना छोरी साथमा रहेका बिष्ट यहि मङ्सिर २ गते मात्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न घरतर्फ जानुभएको थियो । उहाँ मङ्सिर ३ गते बेलुकी देखि बेपत्ता हुनुभएको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एबं प्रहरी निरीक्षक राजेश शाहीका अनुसार ३ गते राति अन्दाजि १० बजेको समयमा डोब स्थित दार्चुला तिङ्कर सडकखण्डमा मृतक नरसिंह बिष्ट र अभियुक्त दिपक बिष्ट दुबैजनाले मादक पदार्थ (रक्सी) सेवन गरेको अवस्थामा भेट भई एक आपसमा विवाद भएको थियो । विवाद हुँदा दिपक बिष्टले नरसिंह बिष्टको टाउकोमा ढुगां प्रहार गरी हत्या गरेको र त्यहाँबाट लासलाई घिसारी २०० मिटर तल गोदरा खोलामा फाली ढुंगाले च्यापेको भन्ने कुरा अनुसन्धानका क्रममा खुल्न आएको उहाँले बताउनुभयो ।

घटनापश्चात प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा सोधपुछको क्रममा अभियुक्त दिपक बिष्टलाई पक्राउ गरी दार्चुला जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अभियुक्त विष्टलाई प्रहरीले मङ्सिर ११ गते पक्राउ गरी १२ गते सार्वजनिक गरेको हो । आफन्तले हत्यारालाई कार्वाहीको माग गर्दै पाँच दिनसम्म मृतकको शव बुझ्न मानेका थिएनन् । प्रहरीले तीन दिन पहिले जिल्ला अस्पताल दार्चुलामा शवको पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाएको थियो । मृतक बिष्टका आफन्तले हत्या भएको आशंका गर्दै संलग्न पत्ता नलाग्दासम्म शव नउठाउने बताउँदै आएका थिए । प्रहरीले दोषीलाई कार्वाही गर्ने आश्वस्त पारेपछि आफन्त शव बुझ्न तयार भएको र पोष्टमार्टमपछि अन्तेष्टि गरिएको बताइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कार्वाही गर्न आफन्तजनका साथै व्याँस गाउँपालिका, नेपाली कांग्रेस, नेकपा एमाले लगायत राजनीतिक दल र स्थानीयले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । हत्यामा संलग्न भनिएका अभियुक्त सार्वजनिक गर्दा समेत प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेको छैन् । घटनाबारे विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् । घटनामा राजनीतिक गन्ध आइरहेको स्रोतको दाबी छ । राजनीतिक दलका केही नेता र स्थानीयले भने घटनामा दोषिलाई लुकाउन निर्दोषलाई फसाउन खोजिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय