निरज धामी
दार्चुलाका २० हजार बढि बालबालिकालाई सोमबारबाट विद्यालयमै कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिइने भएको छ । कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले पाँचदेखि ११ वर्ष मुनिका २० हजार ३९२ जना बालबालिकालाई कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप लगाइदैछ ।
स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुरपरभाइजर बीरेन्द्र भट्टका अनुसार भदौ ६ देखि १० गतेसम्म जिल्लाभरी खोप अभियान सञ्चलन हुने छ । ९ वटै स्थानीय तहका ४२९ वटा खोप केन्द्रमार्फत खोप लगाइने छ । खोप अभियानका लागि एक सय ५७ जना खोप दिने स्वास्थ्यकर्मी, ९८ जना सुपरिवेक्षक र आठ सय ९२ जना स्वयंसेवक परिचालन गरिएको भट्टले बताउनुभयो ।
भट्टका अनुसार महाकाली नगरपालिकामा ६४ वटा खोप केन्द्रमा ४ हजार १४४ बालबालिका, मालिकार्जुन गाउँपालिकामा ५९ वटा खोप केन्द्रमार्फत २ हजार ८९ जना बालबालिका, अपिहिमाल गाउँपालिकामा २८ वटा खोप केन्द्रमा ९०६ बालबालिका, लेकम गाउँपालिकामा ५३ वटा खोप केन्द्रमा १ हजार ७९२ बालबालिका, शैल्यशिखर नगरपालिकामा ७० वटा खोप केन्द्रमा ३ हजार ६४६ बालबालिकाले खोप पाउने छन् ।
यसैगरी नौगाड गाउँपालिकामा ५५ वटा खोप केन्द्रमा २ हजार ९२२ बालबालिका, मार्मा गाउँपालिकामा ४५ वटा खोप केन्द्रमा २ हजार ३५३ बालबालिका, दुहुँ गाउँपालिकामा ३० वटा खोप केन्द्रमा १ हजार २४५ बालबालिका र व्याँस गाउँपालिकामा २५ वटा खोप केन्द्रमा १ हजार २९५ जना बालबालिकाले कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप पाउने छन् ।
जिल्लाभरीका बालबालिकालाई खोप लगाउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट कुल ४० हजार ५०० डोज फाइजर खोप प्राप्त भएको भट्टले बताउनुभयो । खोपको पहिलो मात्रा दिएको २१ दिनपछि बालबालिकालाई दोस्रो मात्राको खोप दिइनेछ ।
जिल्लामा हालसम्म ९७ हजार १११ जनाले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ४७ हजार ५०० सय जनाले ‘बुस्टर डोज’ खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय