निरज धामी

दार्चुला ः- दार्चुला र बैतडी जोड्ने चमेलिया नदीमाथिको मोटरेवल पुलन जीर्ण बनेको छ । दुई जिल्ला जोड्ने एकमात्र पक्की मोटरेवल पुल मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको हो ।
२०५८ मा निर्माण भएको पुल समयमै मर्मत तथा संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । पाँच करोड लागतमा निर्माण गरेको पुल झण्डै १ सय २० मिटर लम्बाई छ ।
बैतडीको डिलाशैनी गाउँपालिका—६ र दार्चुलाको शैल्यशिखर नगरपालिका—९ जोड्ने चमेलिया नदीमाथि निर्माण गरिएको पुल जीर्ण हुँदा जोखिम बढेको भन्दै प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले तत्काल मर्मत सम्भार गर्न आग्रह गर्नुभयो ।
उहाँले प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै महाकाली राजमार्ग अन्तर्गत पर्ने दार्चुला–बैतडी जोड्ने गोकुलेश्वर पुल समेत जीर्ण भएकोले पुलको समेत मर्मत सम्भार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
यो पुलमा दैनिक सयौँ साना ठूला गाडी चल्ने गर्छ । बैतडी र दार्चुलामा चल्ने यातायातका साधनहरु यही पुल भएर आउजाउ गर्ने गर्छन् । दार्चुलामा सञ्चालित अपर चमेलिया ४० मेगावट, मकरिगाड हाइड्रोपावर १० मेगावट साथै सडक स्तरोन्तीमा प्रयोग हुने ठूला मालवाहक ट्रकहरु यहि पुल भएर गुड्ने गर्छन् ।
अहिले पुल मर्मत नहुँदा पिलर र बारमा खिया लागेको छ । किनारामा लगाएका केही सुरक्षा पाइप हराइसकेका छन् भने केही पाइप र किलाकाँटा पनि खुस्किएको स्थानीय बताउँछन् ।
पुलका ३ वटा पिलरमध्ये मध्य पिलर उखेलिन थालेको छ । उक्त पिलर एक मिटर तल झरेको छ । वरिपरि हुनुपर्ने सुरक्षा पर्खाल नहुँदा उखेलिने क्रम बढेको छ । प्राविधिकका अनुसार नदीको बीच भागको पिलर सुरक्षाका लागि पानीको सतह माथिसम्म सुरक्षा घेरा आवश्यक हुन्छ । तर, नदीले एक मिटरभित्र पुर्याउँदा समेत सरोकारवालाको ध्यान गएको छैन् । नदीले वर्षेनी कटान गर्दा पुल जोखिममा पुगेको हो ।
पुल निर्माण भएयता मर्मतसम्भारमा कसैले चासो नदिएको गोकुलेश्वरका व्यापारी महेश नाथ बताउनुहुन्छ । शर्मा एण्ड सिरुवा कम्पनीले निर्माण गरेको पुल माओवादी युद्धकालीन त्रासले गर्दा निर्माण कम्पनीले धेरै काम बाँकी नै छोडेर गएको थियो । नाथ भन्नुहुन्छ, मेरो जानकारीमा निर्माणपश्चात पुल मर्मतमा ध्यान कसैको गएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय