निरज धामी

मार्मा गाउँपालिकाले एक जना डाक्टरलाई पढाउने भएको छ । मार्मा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएर एमबीबीएस पढ्ने विद्यार्थीलाई गाउँपालिकाले अध्ययनको लागि बजेट दिने भएको हो ।
गाउँपालिकामै विशेषज्ञ डाक्टर उत्पादन गर्ने लक्ष्यसहित एक जनालाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले जानकारी दिनुभयो । डाक्टर पढ्न चाहने विद्यार्थी गाउँपालिकाभित्रको सामुदायिक विद्यालयमा अध्ययन गरेको शर्त राखिएको छ ।
अहिले मार्मा गाउँपालिकाले पालिकाभित्र उत्पादन भएको जनशक्ति नभएको कारण बाहिरबाट ल्याएर स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ ।
यस्तै गाउँपालिकाले स्वास्थ्यकर्मीको क्षमता विकास, प्रोत्साहन, यान्त्रिकरण सहयोग लगायतका शिर्षकमा १ करोड ८९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाइने गाउँपालिकाले जनाएको छ ।
कोभिड १९ को लहर चलिरहेको भन्दै मनोपरामर्श, व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रमको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकाभित्रका आङ खसेका महिलाहरुको निशुल्क स्वास्थ्य उपचार गाउँपालिकाले गर्ने भएको छ ।
गाउँपालिकाभित्रका बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउने तथा उपचारमा सहजीकरण गाउँपालिकाले गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय