खोटाङ । ६ रेक्टर स्केलको भूकम्प गएको खोटाङसहित पूर्वी पहाडी जिल्लाका नागरिक घरभित्र जान डराएका छन् । पटक–पटक परकम्पसमेत गइरहेकाले नागरिक घरभित्र जान डराएका छन् । ठूलो पानी परिरहेकाले घर बाहिर बस्न पनि समस्या भएको छ । भूकम्पको केन्द्रविन्दु साकेला गाउँपालिका वडा नम्बर ४ मा २० वटाभन्दा धेरै घर चर्किएको र निरन्तर परकम्प गइरहेकाले त्यहाँका स्थानीय त्रास र जोखिममा छन् ।

भूकम्पका कारण अरू क्षति भने नभएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, पालिका र वडाको समन्वयमा अहिले सुरक्षाकर्मी पनि प्रभावित ठाउँमा पुगेको छ । केही घटना भइहालेमा उद्धारका लागि आफूहरू तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । भूकम्पका कारण यातायात, सञ्चार, विद्युत् आपूर्तिमा कुनै समस्या नभएको पनि उहाँले बताउनुभयो । लगातार परकम्प गइरहेकाले जोखिम बढेको भन्दै उहाँले स्थानीयवासीलाई सुरक्षित रहन पनि आग्रह गर्नुभएको छ ।

भूकम्प प्रभावित क्षेत्र दुर्गममा पर्छ । भूकम्पको केन्द्रविन्दु मात्तिमबिर्तामा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरू रहेकाले र लगातार परकम्प गइरहेकाले थप जोखिम भने बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय