व्याँस गाउँपालिका–२, दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपालतर्फ आउने क्रममा तुइन चुँडिँदा असार २२ गते बेपत्ता भएका छन् । वर्षौदेखि तुइनमार्फत वारपार गर्दै उनी महाकाली नदीको बीच भागमा पुग्दा तुइन चुडिएको थियो ।
घरायसी र दैनिक उपभोग्य वस्तु किनमेल गर्न यही नदी तरेर भारतीय बजारमा जानुपर्ने बाध्यता छ । घरको लागि खाद्यान्नको जोहो गरेर उनी सदरमुकाम आउने तयारीमा थिए । एसइई दिएर घरमा बसेका सचिन नतीजा आएपछि माथिल्लो कक्षाको तयारी गर्ने आउने कुराकानी गरेका थिए घरमा । तर सचिनको घरायसी खाद्यान्न जोहोपछिको सदरमुकाम आउने र आगामी सपना त्यहीँ तुइनको तारसँगै विलाएर गएको छ । राम्रो पढाई गरेर घरको सहारा बन्ने सपना बुनेका सचिनका लागि उर्र्लिएको महाकालीमाथि लगाइएको तुइन अन्तिम बनिदियो ।

गत वर्ष साउन १५ गते भारतीय सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि महाकाली नदीमा खसेर व्यास गाउँपालिका–२, मालघाटका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भए । उनी वेपत्ता भएको एक वर्ष पुग्दैछ । नेपालतर्फको मालघाटबाट भारतको धारचुलामा पर्ने गस्कु जान तुइनबाट नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले लट्ठा खुस्काइदिएपछि उनी महाकालीमा खसेका थिए । गाउँबाट वैदेशिक रोजगारीमा जान काठमाण्डौँ हिडेका जयसिहको सपना पनि त्यहीँ तुइनमा बिलिन भयो । आफु विदेश जाँदा लागेको ऋण काढ्ने र राम्रो घर बनाउने सपना बुनेर गाउँबाट हिडेको आधा घण्टामै उनी महाकालीमा वेपत्ता भए ।
सहजै वारपार गर्न पायक पर्ने ठाउँमा पुल छैनन् । निर्माण योजनामा रहेका पुल पनि समयमै नबन्दा तुइनबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ । झोलुंगे पुल नहुँदा तुइनको भरमा वारपार गर्नुपर्ने स्थानीयको बाध्यता छ । नेपाल र भारतको १ सय ९७ किमि सीमा महाकाली नदीले छुट्याएको छ ।

व्याँस गाउँपालिका वडा नम्बर २ को तल्लो दुम्लीङमा मात्रै तुइनबाट खसेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । भने मालघाटमा तुइनबाट खसेर मृतकको संख्या १० छ । वडा नम्बर २ को तल्ला दुम्लीङ। मालघाट, कल्जु, घाटिबगर, फताङगाड र बल्जुडी गरेर हालसम्म ३२ जनाले तुइनको तार चुढिएर ज्यान गुमाएको प्रहरीको तथ्याङ्क छ ।
अहिले तुइन विस्थापित भएर झोलुङ्गे पूल निर्माण भएका व्याँस गाउँपालिका ४ को मडगाउँमा ४ जना, बर्तीघाटमा १ जना, व्यास गाउँपालिका ५, को ठण्डापानी तुइनमा १२ जना, नाजीघाटमा ३ जन ार तिगरमघाटमा ६ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ ।
यस्तै व्यास गाउँपालिका ६ एलागाड घाटमा ५ जना कालागाड घाटमा ३ जनाले ज्यान गुमाएको प्रहरी अभिलेख छ । प्रहरीले बिक्रम सम्बत् २०१६ यता तुइनबाट खसेर वेपत्ता भएकाहरुको तथ्यांक राखेको छ ।

महाकालीमा तुइन विस्थापन गरी व्यास गाउँपालिका–६, बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६, बाँकु तथा व्यासकै मडगाउँमा झोलुंगे पुल सञ्चालनमा आएका छन् । मडगाउँको पूल विधिवत् रुपमा उद्घाटन हुन बाँकी छ । गत वर्ष जयसिंह धामीको मृत्युपछि तुइन भएको ठाउँ मालघाटमा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको स्थानीय हरकसिह कार्कीले बताउनुभयो ।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने घोषणा गर्नुभएको हो । २०७६÷७७ भित्र देशबाट तुइन विस्थापित गरिसक्ने योजना लिएको भएपनि विभिन्न कारण तुइन विस्थापन ढिलाई हुँदै गएको छ ।
तुइन विस्थापन अन्तर्गत हालसम्म लाली, बाँकु, बडुगाउ, तिगरम, मडगाउँ र मालघाटमा झोलुङ्गे पूल निर्माण भएको छ ।

राहत दिन माग
व्याँस गाउँपालिका २, का स्थानीयले महाकाली नदीमा वेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको परिवारलाई राहत दिन माग गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै राहत दिन माग गरेका हुन ।
वेपत्ता सचिनको परिवार आर्थिक अवस्था नाजुक छ, व्याँस गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष धिनरसिह बुढाथोकीले भन्नुभयो, पीडित परिवारको लागि राहतको व्यवस्था गरिदिन आग्रह छ । वेपत्ता सचिनका बुवा करनसिह बुढाथोकी र लक्ष्मी बुढाटोकी दुवै अपाङ्गता भएका छन् ।
परिवारको अवस्था कमजोर हो । कुनै निकायबाट राहतको लागि पहल हुन सके पीडित परिवारलाई राहत पुग्ने थियो, उहाँले भन्नुभयो ।
गत वर्ष जयसिह धामी महाकालीमा वेपत्त हुँदा सरकारले १० लाख रुपैयाँ राहत दिएको थियो । भारतीय एसएसबीले तुइनफूस्काएर वेपत्ता बनाएको घट्नाले चर्चा पाएपछि सरकारले राहत दिएको हो । त्योबाहेक तुइनबाट खसेर वेपत्ता भएका व्यक्तिले अहिलेसम्म सरकारबाट राहत रकम पाएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय अहिलेसम्म यस्तो राहत रकम प्रशासनको तवरबाट उपलब्ध नभएको भन्दे स्थानीय सरकारको विपद् कोषटबाट सहयोगको लागि पहल गर्नु ठिक हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय