भारतीय सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि महाकाली नदीमा खसेर व्यास गाउँपालिका–२, मालघाटका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएको एक वर्ष पुग्नै लाग्यो । नेपालतर्फको मालघाटबाट भारतको धारचुलामा पर्ने गस्कु जान तुइनबाट नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले लट्ठा खुस्काइदिएपछि उनी महाकालीमा खसेका थिए ।
२०७८ साउन १५ को उक्त घटनापछि पनि तुइनबाट खस्ने क्रम रोकिएको छैन । व्यास गाउँपालिका–२, दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपालतर्फ आउने क्रममा तुइन चुँडिँदा खसेर बुधबार बेपत्ता भएका छन् ।

नेपाल र भारतको १ सय ९७ किमि सीमा महाकाली नदीले छुट्याएको छ । घरायसी र दैनिक उपभोग्य वस्तु किनमेल गर्न यही नदी तरेर भारतीय बजारमा जानुपर्ने बाध्यता छ । सहजै वारपार गर्न पायक पर्ने ठाउँमा पुल छैनन् । निर्माण योजनामा रहेका पुल पनि समयमै नबन्दा तुइनबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ । झोलुंगे पुल नहुँदा तुइनको भरमा वारपार गर्नुपर्ने स्थानीयको बाध्यता छ ।
दार्चुलाको महाकालीमा तुइन विस्थापन गरी सुरक्षित र सहज आवागमन गर्न व्यास गाउँपालिका–६, बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६, बाँकु तथा व्यासकै मडगाउँमा झोलुंगे पुल प्रयोगमा आएका छन् ।
गत वर्ष जयसिंह धामीको मृत्युपछि तुइन भएको ठाउँ मालघाटमा पुल निर्माण कार्य अघि बढेको छ । दार्चुलाकै महाकाली नदीमा मलघट्टे र भारत जोड्ने पुल निर्माण क्रममा छन् ।

२०७६÷७७ भित्र देशबाट तुइन विस्थापित गरिसक्ने योजना तत्कालीन केपी शर्मा ओली सरकारले घोषणा गरेको थियो । त्यसअघि २०७५ साउन १८ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत योजना तथा अनुगमन शाखाले सबै स्थानीय तहलाई पत्र पठाउँदै विभिन्न स्थानमा रहेका नदी, खोला वारपार गर्न सुरक्षित उपाय नभएको अवस्थामा निर्माण गरिएका तुइनलाई झोलुंगे पुलले प्रतिस्थापन गरी तुइन निर्माण कार्य रोक्न निर्देशन दिएको थियो । त्यसअघि पहिलो पटक प्रधानमन्त्री बन्दा ओलीले २०७२ असोज २५ मा तुइन विस्थापन प्राथमिकतामा परेको भन्दै पहिलो मन्त्रिपरिषद्बाटै तुइन विस्थापन गरिने निर्णय गरेका थिए ।
तुइन हटाउन २०७३ मा सरकारले ‘सार्वजनिक तुइन विस्थापन कार्यविधि नै जारी गरेको थियो । त्यसको दुई वर्षपछि मन्त्रिपरिषद्ले २०७५ भदौ २९ मा तुइनको प्रयोग रोकथाम, नियन्त्रण, निरुत्साहित गर्न तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको उद्धार तथा सहायतासम्बन्धी कोष सञ्चालन नियमावली, २०७५ ल्याएको थियो । तर, मानवीय क्षति हुने गरी बर्सेनि घटना दोहोरिने गरेका छन् ।
पहिलो कार्यकालमा ओलीले तुइन विस्थापन अभियानलाई मुख्य उपलब्धिका रूपमा लिएका थिए । त्यसपछि सरकारले तुइन विस्थापन गरी त्यस स्थान तथा वरपर स्थानीयलाई पायक पर्ने ठाउँमा झोलुंगे पुल निर्माणको कार्यक्रम अघि बढाएको थियो । २०७२÷७३ मै देशभर १ सय ९८ स्थानमा तुइन रहेको पहिचान भएको थियो । त्यसमध्ये हालसम्म १ सय ३० भन्दा बढी स्थानमा तुइन विस्थापन गरी पुल बनाइएको सरकारले जनाएको छ । बाँकी ठाउँमा पुल नबन्दा जोखिमपूर्ण यात्रा मात्रै होइन, ज्यानै जाने घटना दोहोरिरहेका छन् ।

दार्चुला सदरमुकाम खलंगादेखि सोही जिल्लाको व्यास गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती महाकाली नदी तर्न मात्रै दुवै देशका स्थानीयले डेढ दर्जनभन्दा बढी स्थानमा तुइन प्रयोग गर्ने गरेका थिए । पछिल्लो पटक आधा दर्जनभन्दा बढी ठाउँमा स्थानीयले लुकीछिपी तुइनबाट महाकाली वारपार गर्ने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका एक अधिकारी बताउँछन् ।
महाकालीमा मात्रै सरकारले तुइन विस्थापन गरी ११ ठाउँमा पुल निर्माण गर्नुपर्ने कार्ययोजना ल्याएको थियो । त्यसमध्ये २ ठाउँमा मात्रै पुल बनेका छन् । दुई ठाउँमा निर्माणाधीन भए पनि ७ ठाउँमा निर्माणको सुरसार छैन ।
व्याससम्म पुग्न नेपाली भूमिबाट बाटोको सुविधा छैन । महाकालीमाथि ग्याबिन तार बेरेर बनाइएको तुइनमा बाँदरले जस्तै उल्टो गरी तर्नुपर्छ । कम्मरमा मसिनो रस्सीको सहायताले खुट्टाको अडेस लगाएर हातले अगाडि खिच्दै तारबाट वारपार गर्नुपर्छ । काठको खम्बा वा ढुंगामा बाँधेको तार चुँडिएर र फुत्केर प्रायः तुइन दुर्घटना हुने गरेको छ ।

दार्चुलाको व्यासका बासिन्दा दैनिक उपभोग्य वस्तु किन्नदेखि औषधि उपचारका लागि तुइनबाट महाकाली तरेर भारत धाउनुपर्ने बाध्यता छ । कति बेला तार चुँडिन्छ भन्ने डरैडरमा तर्नुपरेको व्यास–२ दुम्लिङकी जानकी जोहारीले बताउनुभयो ।
व्यासको अधिकांश भूभाग हिमाली क्षेत्र र केही उच्च पहाडी क्षेत्रमा पर्ने हुँदा अन्न उब्जनी थोरै हुन्छ । व्यासको १३ हजारभन्दा बढी जनसंख्यामध्ये ५ प्रतिशतलाई पनि स्थानीय उत्पादनले खान पुग्दैन । बाँकीका लागि नेपालबाट सहज आउजाउको सुविधा नहुँदा भारतीय बजारबाटै उपभोग्य सामान ल्याउनुपर्छ । त्यसका लागि उनीहरूले महाकालीको भेलमाथि नझुन्डिई धर छैन ।
यहाँका बासिन्दा दाल, चामल, तेललगायत आवश्यक सामान सीमावर्ती भारतीय बजार पांगला, गस्कु, तवाघाट, जिउती, धारचुलालगायत बजारबाट ल्याउँछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय