महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ स्थित श्रीबगर बस्ती नदी कटानको उच्च जोखिममा रहेको छ । २०७० सालमा महाकालीमा आएको बाढी र गत वर्ष निजाङ्गाड खोलामा आएको बाढीले श्रीबगर बस्तीका स्थानीय प्रत्येक वर्षात् चिन्तामै बिताइरहेका छन् ।
२०७० सालयता हरेक वर्षको बर्खामा महाकालीको उच्च बहावले तटीय क्षेत्रको खेत र बगर बगाइसकेको छ । उक्त बाढीले श्रीबगरमा रहेको तपोवन मन्दिरको ठूलो परिसर मेटाइसकेको छ । ’दुहु जोड्ने घोरेटो बाटो पनि अहिले देख्न पाइँदैन,’ स्थानीय वीरेन्द्र बमले भन्नुभयो, ‘गत वर्ष अघिसम्म महाकालीको मात्र चिन्ता थियो । अघिल्लो वर्षबाट निजाङ्गाड खोलाले जोखिम बढाएको छ ।’
गत वर्षको बाढीले करिब दर्जनको संख्यामा स्थानीय घर पसल बगाएको हो । दार्चुला–तिंकर सडकको पुल र दुई झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । निजाङ्गाड खोलामा रहेका धेरै काठेपुल पनि गत वर्षको बाढीले बगाएको थियो ।
असार सुरुदेखि नै यहाँका स्थानीय राति बाढी आउने चिन्ताले अनिँदो बस्नु परेको बताउँछन् । राति पानी परेपछि नदी हेरेर बस्नु परेको स्थानीय नरेन्द्रबहादुर बमले बताउनुभयो ।
७० सालदेखि बाँध बनाएर श्रीबगर सुरक्षित बनाइदिन कयौंपटक सबै निकायसँग गुहार गरे पनि कसैले नसुनेको स्थानीयको गुनासो छ ।
श्रीबगर बस्तीमा महाकाली कटान भारतीय पक्षले बनाएको पक्की तटबन्धसँगै स्पर लगाएर नदीको बहाव नेपाल फर्काइदिँदा जोखिम झन् बढेको छ । लामा–लामा स्पर लगाएर भारततिर बग्ने नदीलाई नेपाल फर्काइएको छ । नेपालतिर तटबन्ध नभएकोले कटान सुरु भएको स्थानीय बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय