गत फागुनमा भारतीय पक्षले तडबन्ध बनाउने क्रममा महाकाली नदीको धार नेपालतर्फ फर्काउन थालेपछि स्थानीय विरोधमा उत्रिए । भारतीय स्काभेटर र जेसेभीमाथि ढुङ्गा प्रहार भयो । स्थानीय मात्र विरोधमा उत्रिएनन्, सशस्त्र प्रहरी बलले नेपाली क्षेत्रमा आएको भारतीय जेसेभीको चाबी नै थुत्यो ।
भारतले सदरमुकाम क्षेत्रमा तडबन्ध बनाएको विषयमा दार्चुला प्रशासनले गृह मन्त्रालयमा संरचना निर्माणको बारेमा जानकारी गरायो । तर गृह मन्त्रालयबाट खासै रिस्पोन्स आएन् ।
सीमा क्षेत्रमा संरचना निर्माणमा दुवै देशका प्राविधिक टोलीबाट नाँप जाँच गरेर मात्रै संरचना बनाउने गरि पहल थालेको भए पनि खासै जवाफ नआएपछि प्रशासनमा थाक्यो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय दार्चुलामा सीमा क्षेत्र व्यवस्थापन र तडबन्धको कारण नेपाल–भारत बीच विवाद हुने गरेको बताउनुहुन्छ ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सोमबार दार्चुलामा गरेको अन्तरक्रिया कार्यक्रममा प्रजिअ उपाध्यायले तडबन्धका कारण पटक÷पटक विवाद हुने गरेको गुनासो गर्नुभयो । मन्त्रालयले प्राविधिक टिम पठाउँला भन्ने अपेक्षा थियो, उहाँले समितिसँग भन्नुभयो, तर त्यसो भएन् ।
भारतसँगको दुई पक्षीय बैठकमा भने आफुले तडबन्धको विषयमा पिथौरागस्थित समकक्षीसँग पटक÷पटक कुरा उठाएको बताउनुहुन्छ । नयाँ नक्सा प्रकाशनपछि राज्यको उपस्थित व्याँसको छाङ्गरुमा बाह«ै महिना भए पनि उनीहरुको लागि भौतिक व्यवस्थापनमा जोड दिनुपर्ने सुझाव उहाँको छ ।
भारतले विगतमा धारचुला हुँदै कालापानी लिपुलेक सडक निर्माणको क्रममा विष्फोटक पदार्थ विष्फोट गर्दा दुम्लीङभन्दा माथिल्लो क्षेत्रमा दर्जनबढि ठाउँमा नेपालतिरको घोरेटोबाटो अवरुद्ध बनेको छ । अहिले पनि महाकाली नदीको प्राकृतिक धारलाई मास्दै पहिलेको तडबन्धभन्दा भित्र पसेर निरन्तर तडबन्ध बनाइरहेको विषयमा दार्चुलाका राजनीतिक दलहरुले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको ध्यानाकर्षण गराएका छन् ।
एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिह धामी सदरमुकाम खलंगाको तडबन्ध अहिले भारतले नेपालतिर च्यापेर बनाइरहेको बताउनुभयो । नदी बग्ने सीमालाई साघुरिदै तडबन्ध बनाउँदा कमजोर भूगोलतर्फ भविष्यमा क्षति पुग्ने उहाँको भनाई छ । भारतले दार्चुलाको सीमा क्षेत्रमा मनपरी भौतिक पूर्वाधार निर्माण गर्ने गरेको भन्दै नेपालको परराष्ट्र नीतिमाथि पुर्नविचार गर्नुआवश्यक रहेको बताउनुभयो ।
दार्चुलामा भारतले सीमा नदीमा भौतिक संरचना निर्माण गरेर मात्र बलमिचाई गरेको छैन् । भारतीय सेनाका हेलिकप्टर अनाधिकृत रुपमा दार्चुलाका सुरक्षा सुरक्षा निकायका भवनमाथि घुमाउने विषयमा समेत सुरक्षाकर्मीले समितिको ध्यानार्कषण गराएका छन् । हामीले आफ्नो निकायमा भारतीय हेलिकप्टर नेपाली आकास, दार्चुलाको सेना व्यारेकमाथि, सशस्त्र प्रहरी गण र जिल्ला प्रहरी र प्रशासन कार्यालयभन्दा माथि पुगेर उडाउने विषयमा पटक पटक रिर्पोटिङ गरे पनि भारतले बेला बेलामा पुन पनि हेलिकप्टर नेपाली आकासमा पुर्याउने गरेको सुरक्षाकर्मीको गुनासो छ ।
गत वर्ष व्यास–२ का जयसिह धामीको खुला सीमाकै कारण ज्यान गएको थियो । झोलुङ्गे पूल नहुँदा वर्षौदेखि तुइनमार्फत तर्दै आइरहेका धामीको भारतीय एसएसबीका कारण ज्यान गएको प्रतिवेदन आउँदा पनि पीडित पक्षले नेपाल सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोगबाहेक अरु केहि दिन सकेको छैन् ।
नेपाली काग्रेसका जिल्ला कार्य समिति सचिव पुलेन्द्रबहादुर कार्की भन्नुहुन्छ, भारतीय सुरक्षाकर्मीको गल्तीले जयसिहको ज्यान जाँदा पनि भारतीय पक्षबाट पीडित परिवारलाई क्षतिपूर्ति केही नपाउनु भनेको के हो ? अहिले पनि भारतीयका कारण सीमा क्षेत्रका नागरिक असुरक्षित छन् । सुरक्षा अनुभूति गर्न नसकेको कार्की बताउनुहुन्छ ।
संघीय संसद अन्तर्राष्ट्रिय सम्बन्ध समितिका उपसमिति संयोजक डा. दीपक प्रकाश भट्ट जिल्लाबाट उठान भएका विषयमा सम्बन्ध निकायको ध्यानाकर्षण गराउने बताउनुहुन्छ । सरकारले भारतले अतिक्रमण गरेको भूगोल समेटर नक्सा जारि गरेपछि यहाँको अवस्था के छ, एकअर्काप्रतिको बुझाई बारे धारणा बुझ्न यहाँ आएका हौँ डा. भट्टले भन्नुभयो, तर अहिले पनि नेपालका अधिकांश सीमा क्षेत्रमा भारतसँग बढि सीमा विवाद देखिने गरेको छ ।
समितिका सभापति पवित्रा निरौला खरेल हामीले सरकारलाई दिने निर्देशन र सम्बन्धित क्षेत्रमा दिने विषयमा कुनै कञ्जुस्याई नुहने बताउनुहन्छ । केहि विषय क्षेत्रबाहिरका पनि उठेका छन् । हामीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई दिने सुझावमा यहाँका मुख्य कुराहरु प्रष्ट साथ राख्छौ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय