महाकाली नदीमा तुइन चुडिएर बेपत्ता भएका युवक अझै फेला पर्न सकेका छैनन् । व्याँस गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार दिउँसो भारतबाट नेपाल आउने क्रममा सचिन बुढाथोकी महाकाली नदीमा खसेका थिए ।
महाकाली नदीमा खसेका सचिनको खोजी कार्य जारी रहेपनि फेला पर्न नसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । वेपत्ता सचिनको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।
अहिलेसम्म केही पत्ता लागेको छैन, जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर राजेश शाहीले भन्नुभयो सबै ठाउँमा खोज्ने कार्य जारी छ ।
जिल्लाका ५ स्थानबाट सशस्त्र प्रहरीको डिजास्टर म्यानेजमेन्ट ट्रेनिङ प्राप्त टोली र नेपाल प्रहरी खोजी कार्यमा बिहानबाटै जुटेको छ ।
दुम्लिङ बीओपीबाट घटनास्थलमा ९ जना, नम्बर ४४ गणबाट २० जना, दत्तु बीओपीबाट ७ जना, जौलजिवी र लाली बीओपीबाट ७ जना सशस्त्र प्रहरीको टोली आज बिहानैबाट खोजी गरिरहेको छ ।
भारतीय बजारमा खाद्यान्न किन्नन गएका बुढाथोकी समान किनेर फर्किने क्रममा तुइन बाधिएको काठ टुटेपछि नदीमा खसेका थिए ।
गत वर्षको साउन १५ मा सोही व्याँस गाउँपालिका २ माल गाउँका जयसिह धामी मालघाटमा भारतीय एसएसबीले तइन फुस्काउँदा महाकालीमा वेपत्ता भएका थिए । मालघाटमा यो वर्ष पूल निर्माण भए पनि दुम्लीङमा झोलुङ्गे पूल निर्माण नहुँदा स्थानीय तुइनमार्फत आवतजावत गर्न बाध्य छन् ।
व्याँस गाउँपालिका २ दुम्लीङ, रिठान र कल्जुका स्थानीय अहिले पनि नेपाल भारत आवतजावत तुइनबाटै गर्ने गरेको वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिह बुढाथोकीले बताउनुभयो । दुम्लीङमा मात्र ११० परिवारको बसोबास छ । यो ठाउँका स्थानीयले पटक पटक तुइनको ठाउँमा झोलुङ्गे पूल निर्माणको लागि सरकारलाई ज्ञापन बुझाए कार्य अघि बढेको छैन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय