भीमेश्वर नगरपालिका– ६ दोलखाका ४२ वर्षीय इन्जनियर राजेन्द्र न्यौपाने २०७६ जेठ १३ गते व्याँस गाउँपालिका ४ बर्तीघाटमा नेपाल भारत आवतजावत गर्ने क्रममा तुइनबाट खसेर महाकालीमा वेपत्ता भए । विश्व खाद्य कार्यक्रम लागू भएको तत्कालीन सुनसेरा गाविस जाने क्रममा उनी महाकाली नदीमा तुइनबाट खसेर वेपत्ता भए ।
व्याँस गाउँपालिका– ५ का २८ वर्षीय महेन्द्रसिह विष्ट २०७० सालमा तिगरम घाटमा तुइनबाट खसेर वेपत्ता भए । नेपाल प्रहरीमा कार्यरत विष्ट श्रीमतिको मृत्यु भएपछि तुइन तरेर आउने क्रममा महाकालीमा वेपत्ता भए ।
व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिह धामी ०७८ साउन १५ गते भारतीय एसएसबीले तुइन फुस्काईदिदा महाकाली नदीमा वेपत्ता भए । उनको अवस्था अझै अज्ञात छ । उनको खोजीमा नेपाल भारतका सुरक्षाकर्मी लागे । नेपाल प्रहरीले ड्रोनमार्फत धामीको शवको खोजी गर्यो तर उनी फेला परेनन् । र अन्तमा कुशको मूर्ति बनाएर परिवारले अन्त्येष्टि गरिदिए ।
बुधबार मात्र व्याँस गाउँपालिका २ कै १८ वर्षीय सचिन बुढाथोकी बल्लुजुडी क्षेत्रमा तुइन चुडिदा महाकाली नदीमा वेपत्ता भएका छन् । भारतबाट नेपालतर्ने क्रममा महाकाली नदीमा दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नेपाल भारत जोड्ने महाकाली नदीमा लगाइएका तुइनबाट खसेर ७४ जना वेपत्ता भएका छन् । विक्रम सम्बत् २०१६ देखि हालसम्म महाकाली नदीमा खसेर ७४ जना वेपत्ता भएको तथ्याङ्क प्रहरीसँग रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर राजेश शाहीले बताउनुभयो । ६३ वर्षको अवधिमा अझै यो भन्दा बढि तुइनबाट खसेर वेपत्ता भएको हुन सक्छ उहाँले भन्नुभयोे, तर सबै घट्नाहरु प्रहरीसँग जानकारीमा आउँदैनन् । स्थानीयले जानकारी नगराए पछि घट्नाहरु अभिलेखमा कमी देखिएको हुन सक्ने उहाँले बताउनुभयो ।
उर्लदो महाकाली नदीमा वेपत्ता हुनेहरु कोही पनि फेला परेका छैनन् । प्रहरीको तथ्याङ्क अनुसार महाकाली नदीमा वेपत्ताहरु अहिलेसम्म फेला पार्न सकिएको छैन् । बर्खाको बेला अधिकांश घट्नाहरु हुने गर्छन् । महाकाली नदीमा वेपत्ता भएपछि पाउन सकिने सम्भावना न्यून हुन्छ, ।
यस्तै व्याँस गाउँपालिका २ को तत्कालीन राप्ला गाविसका मात्रै अहिलेसम्म तुइनबाट खसेर २७ जना वेपत्ता भएका छन् । वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिह बुढाथोकीका अनुसार २०५० देखि २०७९ सम्म साविकको राप्ला गाविसभित्र रहेका तुइनबाट खसेर २७ जना वेपत्ता भएका हुन् ।
राप्लाको तल्ला दुम्लीङ, मालघाट, कल्जु, फताङगाड, र घाटिबगर क्षेत्रमा लगाइएका तुइनबाट खसेर स्थानीय वेपत्ता भएका छन् ।
सरकारले तुइन मुक्त बनाउने नीति लिएको भए पनि दार्चुलाको महाकाली नदीमा अझै पनि तुइन यथावत छन् । तुइन विस्थापनअन्तर्गत आधादर्जनबढि नेपाल भारत जोड्ने झोलुङ्गे पूल निर्माण भएको भए पनि अझै ११० घरधुरी रहेको दुम्लीङका नागरिको लागि झोलुङ्गे पूल निर्माण हुन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय