दार्चुलामा रोपाई सुरु भएको छ । वर्षा सुरु नभएपछि खोलाको पानीमार्फत किसानले रोपाई सुरु गरेका छन् । जिल्लामा कुल रोपाइ हुने ४ हजार ४ सय ८० हेक्टर जमिनमा रोपाइ हुने गर्दछ । कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाशकुमार पन्तका अनुसार अहिले किसानले कुलोमार्फत पानी लगेर सिचाई सुरु गरेका छन् ।
मालिकार्जुन गाउँपालिका ६ बाकुकमा सानु बमले भन्नुभयो, अहिले खोलाको पानी लगाएर सिचाई सुरु गरिएको छ । यो वर्ष पानी नपरेको कारण कुलोको पानी लगाएर सिचाई गरिएको छ । बाकु क्षेत्रमा अधिकांशले रोपाई अन्तिम चरणमा पुर्याएको बताउनुभयो ।
वर्खेबालीको प्रमुख अन्नवालीको रुपमा रहेको धान खेती अन्तरगत रोपाई सुरुभएसँगै कृषकहरुलाई कामको चटारो भएको छ । वैशाख सुरुमा धानको वेर्ना राखेका जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश क्षेत्रहरुमा रोपाई सुरु भइसकेको कार्यालय प्रमुख पन्त बताउनुहुन्छ ।
खोलामा पानि भएका क्षेत्रहरुमा रोपाई गर्न लागिएको छ। जिल्लाका अधिकांश ठाउँहरुमा सिंचाई सुविधा अझै पुगेको छैन, आकाशे पानीमा निर्भर किसानहरु भने मनसुन पछि रोपाई लगाउने छन् ।
आकाशे पानीले रोपाई गर्नुपर्ने बाध्यता भएका ठाउहरुमा रोपाई सुरु हुन सकेको छैन् । जिल्लाका रोपाई हुने सबै ठाउहरुमा सिचाईको सुविधा नभएकाले आकाशे कृषकहरु आकाशे पानीमा निर्भर हुने गरेका छन् ।
अहिले खास गरी महाकाली नदी किनारका उकु बाकु क्षेत्रमा वढी गर्मी हुने तटीय क्षेत्रमा किसानहरु धमाधम रोपाई गरिरहेका छन । दार्चुलाका किसानहरुले असार महिना भरी रोपाई गर्ने गरेका छन ।
दार्चुलाको महाकाली नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्य शिखर नगरपालिका तथा मार्मा गाउँपालिकामा अधिकांश रोपाइ हुने गरेको छ । जिल्लामा २९ हजार ५ सय ५४ हेक्टर खेती योग्य जमिनमध्ये २० प्रतिशतमा मात्रै सिंचाईको सुविधा पुगेको छ भने बाकीमा आकाशे पानीको भरमा खेतीपाती गर्नु पर्ने किसानहरुको बाध्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय