बैतडी

जिल्ला समन्वय समिति बैतडीको निर्वाचन अन्तर्गत मतदान शुरु भएको । अहिले बिहान ७ बजेदेखि ९ बजे सम्म मतदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए ।

जिल्ला समन्वय समितिको नेतृत्वका लागि गठबन्धन दलहरु र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रले समन्वय समितिमा साझा उम्मेदवार उठाएका छन् भने एमाले एक्लैले आफ्ना उम्मेदवार उठाएको छ ।

जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको उम्मेदवारी परेको छ भने एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी परेको छ । धामी सिगास गाउँपालिका वडा नं ४ बाट निर्वाचित सदस्य हुन् भने थापा दशरथचन्द नगरपालिका वडा नं ४ बाट निर्वाचित सदस्य हुन् ।

यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवर र एमालेबाट हेमा भट्ट (कपाडी) चुनावी मैदानमा रहेका छन् ।

यस्तै खुला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा नेकपा माओवादी केन्द्रका प्रेमसिंह भाटको उम्मेदवारी रहेको छ । एमालेबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुकको उम्मेदवारी रहेको छ ।

यस्तै तीन महिला सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका यशोदा चन्द र हरु नेपाली तथा नेकपा माओवादी केन्द्रका निर्मला भट्टको उम्मेदवारी रहेको छ । यस्तै एमालेबाट चन्द्रा जोशी (पाण्डेय) र यशोदा महराको उम्मेदवारी परेको छ ।

यस्तै एकजना दलित सदस्यका लागि गठबन्धनबाट स्वतन्त्रका हरना सार्की र एमालेबाट द्रोपती दयालको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्रावधान रहेको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेसका ९,  माओवादी केन्द्रका २ र स्वतन्त्रका १ गरी गठबन्धनसंग १२ मत रहेको छ भने एमालेसंग ८ मत मात्रै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय